एकै दिन दुई चलचित्र रिलिज, दुवै सिनेमाको लिडमा नायिका
काठमाडौं । दुईवटा नेपाली चलचित्र आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् ।
शाहारा शर्माले निर्देशन गरेको ‘एक मुठ्ठी बादल’मा आँचल शर्मा मुख्य भूमिकामा छिन् । सुरक्षा पन्त मुख्य भूमिकामा रहेको ‘लाइफ ड्यामेज’लाई कन्टेन्ट क्रियटर निमेष श्रेष्ठले निर्देशन गरेका छन् । उनी आफैँ पनि यो चलचित्रमा मुख्य भूमिकामा छन् ।
‘एक मुठ्ठी बादल’मा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौलालगायतको अभिनय छ ।
‘लाइफ ड्यामेज’मा सुरक्षासँग निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायत कलाकारको अभिनय छ ।
सुखद् संयोग यी दुवै चलचित्रको मुख्य भूमिकामा महिला कलाकार छन् । आँचल र सुरक्षाले यी सिनेमालाई लिड गरेका छन् । तर, दुवै चलचित्रले हलमा भने राम्रो शो संख्या पाएका छैनन् ।




