‘आ बाट आमा–२’को अभिनेत्रीमा रिस्ता गुरुङ अनुबन्धित
काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा–२’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन् । फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन् ।
आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो । अनुबन्ध भएपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।
“यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ,” उनले भनिन्, “पल शाह या आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफूलाई । सबैसँग काम गर्न पाउँदा हुन्छ मलाई । यो सँग र त्योसँग भन्ने छैन ।”
निर्देशक पन्तले यस फिल्ममा अभिनेत्रीको जोडी को हो भन्ने बारेमा खुलाएनन् । निकै चासोको विषयमा निर्देशकले कसको जोडीका रुपमा अभिनेत्री गुरुङलाई लिइएको भन्ने विषयमा बोलेनन् ।
अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’ कि विजेता हुन् । आगामी असोज ३० गते अर्थात दसैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह,आकाश श्रेष्ठ,विपना थापा, प्रदीप रावतका अलवा साइग्रेस पोखरेल, गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन् ।
चलचित्रमा कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो । उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो । उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।




