किन लाग्यो रणवीर सिंहमाथि प्रतिबन्ध ? संकटमा परे ठूला प्रोजेक्टहरू
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह ठूलो कानुनी र व्यावसायिक संकटमा परेका छन् । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई)ले अभिनेता सिंहमाथि प्रतिबन्ध जारी गरेको छ ।
केही साताअघि महासंघमा अभिनेता तथा निर्देशक फरहान अख्तरले रणवीर सिंहविरुद्ध उजुरी दिएफेडेरेसनले रणवीर सिंहसँग काम नगर्न आफ्ना सदस्यहरूलाई निर्देशन दिएको हो ।
अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीपछि यस्तो निर्णय गरिएको महासंघले सोमबार साँझ यो कडा कदम चालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २०२३ मा फरहान अख्तरले रणवीर सिंहलाई मुख्य भूमिकामा राखेर ‘डन ३’ को घोषणा गरेका थिए । शाहरुख खानपछि यो चर्चित फ्रेन्चाइजलाई रणवीरले अगाडि बढाउने तयारी थियो । तर, आफ्नो पछिल्लो चलचित्र ‘धुरन्धर’ व्यावसायिक रूपमा सफल भएलगत्तै रणवीरले अचानक ‘डन ३’ बाट बाहिरिने निर्णय लिए ।
चलचित्रको प्रि-प्रोडक्सनका लागि ४५ करोड भारु खर्च भइसकेको र छायांकनको अन्तिम तयारी भइरहेका बेला रणवीरले धोका दिएको भन्दै निर्देशक अख्तरले महासंघमा उजुरी दिएका थिए । अख्तरका अनुसार रणवीरकै लागि उनले आफ्नो अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘जी ले जरा’ समेत स्थगित गरेका थिए ।
महासंघका अध्यक्ष वीएन तिवारीका अनुसार यो विवाद सुल्झाउन रणवीरलाई तीन पटकसम्म रिमाइन्डर पठाइएको थियो । अप्रिल २२, अप्रिल ३० र मे १३ मा पठाइएका पत्रहरूको उनले कुनै सकारात्मक जवाफ दिएनन् । उल्टै रणवीरले यो विवाद ‘सम्झौताको सर्त’सँग सम्बन्धित नभएको भन्दै महासंघ यसका लागि सही मञ्च नभएको र कानुनी उपचार खोज्नुपर्ने रुखो जवाफ पठाएपछि महासंघ प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो ।
निर्माण पक्षले रणवीरमाथि केवल फिल्म छोडेको मात्र नभई ‘क्रिएटिभ’ हस्तक्षेप गरेको आरोप समेत लगाएको छ । रणवीरले पटकथा फेर्न दबाब दिएको, अत्यधिक गालीगलौज र हिंसात्मक दृश्यहरू राख्न आग्रह गरेको दाबी निर्माण पक्षको छ । रणवीरले साइनिङ अमाउन्ट फिर्ता गर्ने बताए पनि निर्माण पक्षले भने तयारीका क्रममा भइसकेको करोडौँको नोक्सानीको क्षतिपूर्ति मागेको छ । यो विवाद मिलाउन भिनेता आमिर खानले समेत मध्यस्थताको प्रयास गरेका थिए, तर सहमति हुन सकेन ।
महासंघको यो प्रतिबन्धले रणवीरको पाइपलाइनमा रहेका कयौँ ठूला चलचित्रहरूको भविष्य अन्योलमा परेको छ । अब कुनै पनि निर्माताले रणवीरसँग काम गर्नुअघि महासंघबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिनुपर्नेछ ।
यसको प्रत्यक्ष असर शाहरुख खानको ‘किङ’ (जसमा रणवीरको विशेष भूमिका छ), निर्देशक आदित्य धरको आगामी ठूलो बजेटको चलचित्र, कियारा आडवाणीसँगको नयाँ प्रोजेक्ट, संजय लीला भन्सालीको महत्त्वाकांक्षी चलचित्र ‘बैजु बावरा’मा पर्ने देखिएको छ ।
यता रणवीर सिंहका प्रवक्ताले भने एक विज्ञप्ति जारी गर्दै अभिनेताले ‘डन’ फ्रेन्चाइज र फिल्म उद्योगको सधैँ सम्मान गर्ने बताएका छन् । “रणवीर सिंहले सोचविचार गरेरै मौनता साधेका हुन् । आपसी सम्बन्ध र कामको कुरा मर्यादित ढंगले सुल्झाउनुपर्छ,” प्रवक्ताले भनेका छन्, “उनी अहिले हल्लाको पछि नलागी आफ्ना नयाँ प्रोजेक्टमा केन्द्रित छन् ।”
फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज भारतीय चलचित्र उद्योगका कामदार र कलाकारको अधिकार संरक्षण गर्ने सबैभन्दा ठूलो संस्था मानिन्छ । यसको स्थापना सन् १९५६ मा भएको थियो भने सन् १९५८ मा दर्ता गरिएको थियो । यसअन्तर्गत ३४ वटा विभिन्न सङ्घ आबद्ध छन् । अभिनेता, निर्देशक, निर्माता, प्राविधिक, क्यामेराकर्मी, कनिष्ठ कलाकार र स्पटब्वायसहित करिब ४ देखि ५ लाख सदस्य यसमा आबद्ध रहेको बताइएको छ । भारतीय चलचित्र उद्योगमा काम गर्ने झन्डै ९० प्रतिशत व्यक्ति यही फेडेरेसनसँग आबद्ध सङ्घका सदस्य छन् ।
यसअघि पनि बलिउडका धेरै कलाकार र प्राविधिकहरू महासंघको यस्तो कारबाहीमा परिसकेका छन् । अब रणवीरले यो विवाद कसरी सुल्झाउँछन् भन्नेमा बलिउडको ध्यान केन्द्रित भएको छ ।
फेडेरेसनले कुनै चलचित्रमा काम नगर्न निर्देशन दिए छायांकन नै रोकिन सक्ने अवस्था हुन्छ । यसअघि निर्माता फिरोज नाडियाडवालाले प्राविधिक टोलीलाई रकम नदिएको विवादमा पनि फेडेरेसनले काम रोक्ने निर्देशन दिएको थियो । त्यसपछि बक्यौता रकम तिर्न बाध्य बनाइएको थियो ।




