आर्ट खबर तेस्रो वर्षमा प्रवेश
आर्ट खबर तेस्रो वर्षमा प्रवेश गरेको छ । तपाईंहरूको अथाह माया, प्रेम, सद्भाव र सहयोगका कारण नै आर्ट खबर तेस्रो वर्षमा प्रवेश सम्भव भएको हो । दुई वर्षअगाडि आजैका दिनबाट हामी तपाईंहरूमाझ पहिलोपटक आएका थियौँ । तर, तपाईंहरूको साथ र हौसलाका कारण यो यात्रा सम्भव भएको हो ।
यो यात्रामा हामी सबैभन्दा पहिलो कसरी पाठक, दर्शक तथा स्रोताको मन जित्ने भन्नेमा थियौँ । पाठकको मन जित्ने उद्देश्यबाट सुरु भएको हाम्रो यात्रामा हामीले सबैभन्दा पहिला सत्य, तथ्य र निष्पक्ष समाचार तथा समाचार साम्रगीलाई पहिलो प्राथमिकतामा राख्यौँ । र, नेपाली सिनेमा उद्योगलाई कसरी आलोचनात्मक सहयोग गर्दै अझै यसलाई कसरी दरिलो र बलियो बनाउने भन्नेमा केन्द्रित रह्यौँ ।
हाम्रो यो प्रयासलाई सार्थक तुल्याउँदै तपाईंहरूले विश्वास र भरोसाले थामिदिँदा हामीलाई थप जिम्मेवार हुने प्रेरणा मिलेको छ । र, अगाडिको यात्राका लागि थप हौस्याएको छ । बलियो खुट्टा टेकेर अगाडि बढ्ने प्रेरणा मिलेको छ ।
यससँगै हामीले नैतिक दबाब पनि महसुस गरेका छौँ । हाम्रा आम पाठकलाई सत्य, तथ्य सूचना सम्प्रेषण गरिरहँदा हामी नेपाल सरकारले तोकेको सम्पूर्ण कानुनी मापदण्डभित्र रहेर आर्ट खबरलाई सञ्चालन गरिरहेका छौँ ।
यो यात्रामा हामीलाई विश्वास गर्ने पाठक, स्रोता र दर्शक, विज्ञापन उपलब्ध गराएर सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाता र हामीलाई अगाडि बढ्न सधैँ हौसला दिने सुभेच्छुकहरूप्रति आभारी छौँ । र, यसको निरन्तरताको अपेक्षा पनि गर्छौं ।
भीडमा हामीले केही फरक गर्ने कोसिस गर्दै आएको सबैलाई अवगत नै छ । साप्ताहिक रूपमा नियमित सम्पादकीय प्रकाशन गर्दै आएका छौँ । सन्दर्भअनुसार टिप्पणी प्रकाशन ग¥यौं । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने नै छौँ ।
हामीले नयाँ पुस्ताका लागि जानकारी र अग्रज पुस्ताका लागि पुनरताजगीका लागि अनदेखा गरिएको विषयलाई प्रकाशन गर्दै आएका छौँ । यसलाई ‘फिल्मी रेकर्ड’ स्तम्भको नाम दिएका छौँ । जसमा हामी नेपाली सिनेमा उद्योगमा बनेका रेकर्ड पस्कँदै आएका छौँ ।
सूचना र जानकारीसँगै सम्बन्धित क्षेत्रमा रहेका विकृति र विसंगतिप्रति खबरदारी गर्नु हाम्रो जिम्मेवारी हो । यसलाई महसुस गर्दै जिम्मेवारीबाट विचलित हुने छैनौँ ।
समयसँगै दर्शकको रुचि भिडियोमा बढ्दै गएकाले हामीले भिडियो सामग्रीलाई पनि सँगसँगै अघि बढाएका छौँ । आर्टखबर, आर्टखबर एचडी र आर्टखबर टिभीमार्फत हामीले शब्द र भिडियो दुवैमार्फत यहाँहरूसम्म आइरहेका छौँ ।
नयाँनयाँ सामग्री लिएर आउने प्रण गर्दै तपाईंहरूको साथ, सहयोग र सुभेच्छाको थप अपेक्षा फेरि एकपटक गर्छौं । आजसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै थप सुझाव र सल्लाहको आशा गर्छौं । यहाँहरूको सुझाव र सल्लाह र प्रतिक्रिया नै हाम्रो मागर्दशन बन्नेछ । यसैले हाम्रो आगामी यात्रा तय गर्नेछ ।


