चलचित्र ‘हली’ को प्रदर्शन मिति तय, प्रमोसनल गीतमा नृत्य गरेका कलाकार पनि पोस्टरमा
काठमाडौं । अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेर चर्चामा रहेका निर्देशक ओम प्रतीकको नयाँ चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा स्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक दुई पोस्टरमध्ये एउटामा चलचित्रका मुख्य कलाकारहरू ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापालाई निकै रिसाहा र आक्रामक स्वभावमा प्रस्तुत गरिएको छ । उनीहरूबीचको सम्बन्धमा आएको खटपट र तिक्ततालाई पोस्टरले चित्रण गरेको छ, जसले चलचित्रभित्र कुनै गम्भीर र नाटकीय घटनाक्रम लुकेको संकेत गर्छ ।
त्यस्तै, पोस्टरमा उनीहरुको पछाडी एक घरको दैलोमा दुई महिला पात्रहरू थाल बोकेर बसिरहेको देखाइएको छ । जुठो भाँडा हातमा लिएर बसेका उनीहरूको भावभङ्गीले समाजमा नारीले भोग्नुपरेको पीडा र बेदनालाई उजागर गर्न खोजेको देखिन्छ । यद्यपि, चलचित्रको वास्तविक कथावस्तुबारे थप प्रष्ट हुन भने टिजर र ट्रेलर कुर्नुपर्ने निर्माण पक्षको भनाइ छ ।
यस्तै, निर्माण टिमले अर्को पोस्टर पनि सार्वजनिक गरेको छ, जसमा चलचित्रको प्रमोसनल गीतमा नृत्य गरेका कलाकारहरूलाई समेटिएको छ ।
चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै तयार पारिएको यो पोस्टरमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा कलाकारहरू फिचर्ड छन् । गत वर्ष नै सार्वजनिक भएको ‘चान्स पाएँ त’ बोलको गीतमा यी कलाकारहरूले विशेष नृत्य गरेका थिए, जसलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्र वास्तविक जीवनका घटनाहरूबाट प्रेरित रहेको निर्देशक प्रतीकको भनाइ छ । “समाज एवं देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ” भन्ने बलियो र सकारात्मक सन्देश प्रवाह गर्नु नै चलचित्रको मुख्य उद्देश्य रहेको उनले बताए ।
निर्देशक प्रतीक आफैले लेखेको यस चलचित्रको कथावस्तुप्रति उनी निकै आशावादी देखिएका छन् ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयम् मुख्य भूमिकामा देखिनेछन् ।
व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको यस चलचित्रमा अर्जुन भुसाल कार्यकारी निर्माता र नम्रता भण्डारी सह–निर्मात्री रहेका छन् ।
राहुल राईको छायांकन रहेको चलचित्रलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ ।
जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ ।


