कर्मचारी महासंघले लगाएको प्रतिबन्धमा रणवीर सिंहलाई मिल्यो राहत
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र फिल्म क्षेत्रका प्राविधिकहरूको छाता संगठन फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) बीच चल्दै आएको विवाद तत्कालका लागि साम्य भएको छ ।
एफडब्लूआईसीईले अभिनेता रणवीर विरुद्ध जारी गरेको ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशिका तत्काल फिर्ता लिने घोषणा गरेको छ ।
बुधवार आयोजित एक पत्रकार सम्मेलनमा एफडब्लूआईसीईले इन्डियन मोशन पिक्चर प्रोड्युसर्स एशोसिएशन (आईएमपीपीए) को विशेष अपिलपछि यो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यसअघि एफडब्लूआईसीईले गत मे २५ मा रणवीर सिंहविरुद्ध असहयोगको आदेश जारी गरेको थियो ।
यो विवादको मुख्य जड अभिनेता रणवीर सिंह फिल्म ‘डन ३’ बाट बाहिरिनु थियो । ‘धुरन्धर’ सफल भएपछि उनले अचानक ‘डन ३’बाट हात झिकेका थिए ।
अभिनेता फरहान अख्तरको निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले निर्माण गरिरहेको यस फिल्मको सम्पूर्ण तयारी पूरा भइसकेको र सुटिङ सुरु हुन मात्र तीन हप्ता बाँकी छँदा रणवीरले प्रोजेक्ट छाडेका थिए । यसपछि उनले क्षतिपूर्तिको माग गर्दै विभिन्न संस्थामा रणवीरविरुद्ध उजुरी दर्ता गरेका थिए ।
अन्तिम समयमा कलाकार पछि हट्दा निर्माताले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै एक्सेल इन्टरटेनमेन्टले रणवीरसँग ४५ करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गरेको थियो । यही विषयलाई लिएर एफडब्लूआईसीईले गत मे २५ मा आफ्ना सदस्यहरूलाई रणवीर सिंहसँग सम्बन्धित कुनै पनि प्रोजेक्टमा काम नगर्न (असहयोग गर्न) निर्देशन जारी गरेको थियो ।
रणवीर सिंहमाथि प्रतिबन्ध लगाइएको समाचारहरू सार्वजनिक भइरहँदा एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले त्यसको खण्डन गरेका छन् । उनले स्पष्ट पार्दै भने, “एफडब्लूआईसीईसँग कसैलाई प्रतिबन्ध लगाउने कानुनी अधिकार छैन । हामीले केवल असहयोगको आह्वान गरेका थियौँ । कुनै पनि प्राविधिक वा मजदुरले कसैसँग काम गर्ने वा नगर्ने भन्ने कुरा उसको लोकतान्त्रिक अधिकार हो ।”
उनले सञ्चारमाध्यमलाई यसलाई ‘प्रतिबन्ध’ को रूपमा व्याख्या गरेर अन्योल सृजना नगर्न समेत आग्रह गरे ।
विवाद बढ्दै जाँदा रणवीर सिंहले पनि एफडब्लूआईसीईलाई कानुनी नोटिस पठाएको चर्चा चलेको थियो । यसैबीच, प्रोड्युसर्स गिल्ड अफ इन्डियाले पनि यस विषयमा आफ्नो धारणा राख्दै चिन्ता व्यक्त गरेको छ । गिल्डका अनुसार पछिल्लो समय सुटिङको अन्तिम घडीमा अभिनेता वा प्राविधिकहरू आफ्नो प्रतिबद्धताबाट पछि हट्ने प्रवृत्ति बढेको छ ।
गिल्डले भनेको छ, “यस्ता निर्णयले फिल्मको साख मात्र गिराउँदैन, सयौँ दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र प्राविधिकहरूको रोजीरोटीमा पनि असर पुर्याउँछ ।”
गिल्डले एक्सेल इन्टरटेनमेन्ट र प्यानोरामा स्टुडियोजजस्ता सदस्यहरूबाट यस्तै प्रकृतिका गुनासाहरू प्राप्त भएको उल्लेख गर्दै सबै पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेको थियो।
आईएमपीपीएको मध्यस्थता र फिल्म उद्योगमा एकता कायम राख्ने उद्देश्यले एफडब्लूआईसीईले आफ्नो कदम फिर्ता लिएपछि रणवीर सिंहलाई ठुलो राहत मिलेको छ । संस्थाले अबका दिनमा आपसी समझदारी र कुराकानीका माध्यमबाट यस्ता समस्या सुल्झाउने प्रतिबद्धता जनाएको छ। यस निर्णयसँगै रणवीर सिंहको आगामी प्रोजेक्टहरूमा देखिएको अन्योल हटेको छ ।


