६१ वर्षको उमेरमा तेस्रो विवाह गर्दै आमिर खान

काठमाडौं । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान पुनः वैवाहिक बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्ध र विभिन्न अड्कलबाजीलाई पूर्णविराम दिँदै ६१ वर्ष पुगेका अभिनेता आमिरले आफ्नी प्रेमिका गौरी स्प्राटसँग विवाह गर्न लागेको घोषणा गरेका हुन् ।

हालै ‘भेराइटी इण्डिया’ सँगको कुराकानीमा आमिर खानले आफ्नो विवाहको मितिबारे खुलासा गरेका छन् । आमिरका अनुसार उनीहरूले आगामी जुलाई ५ का लागि विवाहको साइत जुराएका छन् ।

विगत दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका आमिर र गौरीले आफ्नो विवाहलाई भव्य बनाउनुभन्दा पनि व्यक्तिगत र अर्थपूर्ण बनाउन चाहेका छन् । आमिरले अन्तर्वार्तामा भनेका छन्, “विवाहको खबर सत्य हो । हामी जुलाई ५ मा वैवाहिक जीवनमा बाँधिदैछौँ ।”

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार अभिनेता आमिर कुनै ठूलो तामझाम वा बलिउडको भड्किलो रिसेप्सन आयोजना गर्ने छैनन् । उनी आफ्नो निजी जीवनलाई अनावश्यक मिडिया सर्कसबाट टाढा राख्न पारिवारिक वातावरणमा मात्र समारोह सम्पन्न गर्ने तयारी गरेका छन् ।

६० औं जन्मदिनमा खुलाएका थिए सम्बन्ध

आमिर खानले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनको विशेष अवसर पारेर गौरी स्प्राटसँगको सम्बन्धलाई सार्वजनिक गरेका थिए । त्यसअघि उनीहरूको सम्बन्धबारे धेरै चर्चा भए पनि आमिर मौन रहँदै आएका थिए । सम्बन्ध खुलाएपछि आमिरले विभिन्न समयमा गौरीले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तन, शान्ति र स्थिरताको प्रशंसा गर्दै आएका छन् ।

गौरी स्प्राट बेंगलुरुकी एक सफल उद्यमी तथा फेसन-ब्यूटी क्षेत्रकी स्थापित व्यवसायी हुन् । जीवनशैली र सैलुन उद्योगमा लामो अनुभव सँगालेकी गौरी हाल मुम्बईमा बसोबास गर्दै आएकी छन् । उनी एक छोराकी आमा पनि हुन् ।

आमिर र गौरीको चिनजान नयाँ भने होइन । उनीहरूको पहिलो भेट करिब २५ वर्षअघि भएको थियो । वर्षौंपछि पुनः भेट हुँदा उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भएको बताइन्छ । आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि परिवारजस्तै साथमा बस्दै आएका छन् ।

यो आमिर खानको तेस्रो विवाह हुनेछ । उनले पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग गरेका थिए, जोसँग सन् २००२ मा सम्बन्ध विच्छेद भयो । रीना र आमिरका दुई सन्तान जुनैद खान र इरा खान छन् ।

त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरे । किरणसँगको १६ वर्ष लामो वैवाहिक सम्बन्ध सन् २०२१ मा अन्त्य भएको थियो । उनीहरूका एक छोरा आजाद राव खान छन् । दुई पटक सम्बन्धविच्छेद भए पनि आमिरले आफ्ना दुवै पूर्वपत्नीहरूसँग अत्यन्तै सम्मानपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम राखेका छन् । उनीहरू सधैं पारिवारिक उत्सवहरूमा सँगै देखिने गर्छन् ।