डल्बी साउन्ड प्रयोग गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र निर्माणको इतिहास लामो भए पनि प्राविधिक पक्ष अहिले पनि कमजोर रहेको छ । प्रविधि र दक्ष प्राविधिकको अभावका कारण नेपाली चलचित्र प्राविधिक रूपमा अहिले पनि कमजोर नै हुने गरेका छन् ।

साउन्डको सन्दर्भमा अहिले पनि नेपाली सिनेमा निकै धेरै कमजोर हुने गरेका छन् । डल्बी साउन्ड सिस्टममा काम नगर्दा नेपाली चलचित्रको साउन्ड निकै कमजोर हुने गरेको छ ।

करिब करिब सतप्रतिशत नेपाली सिनेमाले अहिले पनि डल्बी साउन्डमा काम गर्दैनन् । तर, यसको मतलब नेपाली सिनेमामा हालसम्म डल्बी साउन्डको प्रयोग नै भएको छैन भन्ने होइन ।

रबि बराल निर्देशित चलचित्र ‘चमेली’मा नै डलबी साउन्डको प्रयोग गरिएको थियो । यो चलचित्र विसं. २०५६ माघ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । ‘चमेली’ डल्बी साउन्ड सिस्टम प्रयोग गर्ने पहिलो नेपाली चलचित्र हो ।

डल्बी साउन्ड सिस्टम प्रयोग गर्ने पहिलो नेपाली चलचित्रको रेकर्ड बनाएको ‘चमेली’ले चारवटा राष्ट्रिय अवार्ड जितेको थियो ।

नेपालमा डल्बी साउन्ड सिस्टमको स्टुडियो नहुनु र यो प्रविधि महंगो भएकाले पनि डल्बी साउन्ड सिस्टमा नेपाली चलचित्रमा काम नभएको हो । तर, गत वर्ष भने नेपालमा म्युजिक नेपालले डल्बी साउन्ड स्टुडियो खोलेको छ ।

त्यसैले अब भने डल्बी साउन्ड नेपाली चलचित्रमा पनि सुन्न सकिने विश्वास गर्न सकिन्छ । म्युजिक नेपालसँग डल्बी साउन्डका लागि सम्झौता गर्ने पहिलो चलचित्र ‘पाँच पाण्डब’ हो । यो चलचित्र अहिले पोस्टप्रोडक्सनको चरणमा छ ।