‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण !
काठमाडौं । चलचित्र ‘रोल नम्बर १’मा विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण देखिएको छ । ‘रोल नम्बर १’ले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन थालेका छन् ।
चलचित्र हेरेका विद्यार्थी र शिक्षकहरूले ‘रोल नम्बर १’ लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने सिनेमाको रूपमा व्याख्या गरेका छन् । उनीहरूको भनाइ छ, “हामीले विद्यालयबाट यो चलचित्र हेर्यौं, तर यसमा उठाइएका विषयवस्तुहरू यस्ता छन् कि अभिभावकले पनि आफ्ना छोराछोरीसँगै बसेर हेर्न आवश्यक छ। परिवारभित्र संवाद र बुझाइ बढाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ।”
सिनेमाले शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती र सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गरेको भन्दै दर्शकहरूले प्रशंसा गरिरहेका छन् ।
चलचित्र हेरेपछि धेरै विद्यार्थी तथा दर्शक भावुक बनेका छन् ।
बलियो वर्ड अफ माउथ र दर्शकको सकारात्मक प्रतिक्रियाका कारण ‘रोल नम्बर १’ ले आगामी दिनमा अझ उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ । हालसम्म यो सिनेमाले एक करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।
चलचित्रले विद्यार्थीदेखि अभिभावकसम्म सबै उमेर समूहका दर्शकलाई छोएको प्रतिक्रिया प्राप्त भइरहेको निर्माणपक्षले जनाएको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन् ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।


