शेर्पा भाषामा बनेको पहिलो चलचित्र कुन हो ? जसले ठूलो उपलब्धी हासिल गरेको थियो

काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै चलचित्रका नाममा रेकर्ड रहेका छन् । यसमध्ये नेपाली फिचर फिल्म मात्रै होइन, अन्य भाषाभाषीका चलचित्रका नाममा पनि विभिन्न रेकर्डहरू रहेका छन् ।

यस्तै एउटा चलचित्र हो, ‘खांग्री : द माउन्टेन’ । यो शेर्पा भाषाको चलचित्र हो । शेर्पा भाषाको यो चलचित्र शेर्पा भाषाकै सबैभन्दा पहिलो चलचित्र हो । यो शेर्पा भाषाको पहिलो फिचर फिल्म हो ।

‘खांग्री’लाई नवीन सुब्बाले निर्देशन गरेका छन् । विसं २०५२ मा सार्वजनिक गरिएको यो चलचित्रले शेर्पा समुदायको जीवनशैली, हिमाली संस्कृति, परिवर्तनलाई चित्रण गरेको छ ।

हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदामा पर्यटन तथा पर्वतारोहणको कारणले आएको परिवर्तनलाई यो सिनेमाले प्रस्तुत गरेको छ । शेर्पा भाषामा संवाद गरिएको यस चलचित्रले शेर्पा पहिचानको संरक्षण र प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेलेको छ ।

फिल्मको मुख्य कलाकारहरूमा शाम्दे शेर्पा, डोमा शेर्पा, छिरिङ डोमा शेर्पा, जङबु शेर्पा छन् ।

यो सिनेमाको नाममा अर्को रेकर्ड पनि छ । निजी क्षेत्रबाट बनेर इन्टरनेसनल फिल्म फेस्टिभलमा पुग्ने पहिलो सिनेमा ‘खाङग्री’ हो । ‘खाङग्री’ २०५२ सालमा ट्रेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेको थियो ।

‘खाङग्री’लाई सुन्दर श्रेष्ठले निर्माण गरेका थिए । सुन्दरले अमेरिकी शैक्षिक संस्था फुलब्राइट कमिसनको जागिर छोडेर ‘खाङग्री’ निर्माण गरेका थिए ।

खुम्बु क्षेत्रमा पुगेर सुन्दरले लेखेको कथालाई नवीन सुब्बाले स्क्रिप्टमा रुपान्तरण गरेका थिए । ‘खाङग्री’को को–प्रोडुसर एपी शेर्पा हुन् । ‘खाङग्री’ हलमा सन् १९९५ मा लागेको थियो । तर, हलमा चलेर लगानी उठाएन । त्यो समय यस्ता सिनेमा चल्दैन थिए । सिनेमा केही छोटो पनि थियो । ‘खाङग्री’को लेन्थ ७७ मिनेट मात्रै थियो ।

नवीन, सुन्दर र एपी ‘खाङग्री’ लिएर फेस्टिभलमा गए । नेपालबाट विदेशी फिल्म फेस्टिभलमा निजी क्षेत्रबाट बनेको फिल्म गएको पहिलोपटक थियो । ‘खांग्री’ले उक्त फेस्टिभलमा स्पेसल जुरी अवार्ड पनि जितेको थियो ।

इटालियन फिल्म कम्पनीले ‘खाङग्री’को कपिराइट किन्यो । त्यो नेपालका निम्ति निकै ठूलो उपलब्धि थियो ।

स्लोभाकिया, अमेरिका, क्यानडाको फिल्म फेस्टिभलमा पनि ‘खांग्री’ नोमिनेसनमा परेको थियो ।