दयाहाङ र मिरुनाको जोडि फेरि एकसाथ देखिँदै

काठमाडौं । सुपरहिट चलचित्र ‘जारी’ मार्फत दर्शकको मन जित्न सफल र लोकप्रिय जोडी दयाहाङ राई र मिरुना मगर फेरि एकसाथ देखिने भएका छन् । यो जोडीलाई नयाँ चलचित्र ‘रातो घेरा: द रेड सर्कल’ मा देख्न पाइने भएको हो ।

विशेषगरी ‘कबड्डी ४’ र ‘जारी’ पछि लगातार व्यावसायिक रूपमा सफल सिनेमा दिँदै आएका र दर्शकले समेत निकै रुचाएको यो जोडी पछिल्लो पटक ‘जारी २’ मा देखिएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा अहिले पनि यो जोडीलाई ‘हिट मेसिन’का रूपमा हेर्ने गरिन्छ । यसअघि दयाहाङ र मिरुनालाई लिएर चलचित्र ‘घर ज्वाइँ’ बनाएका अनिल बुढामगरले यस चलचित्रलाई निर्देशन गर्ने भएका छन् ।

२०८१ असार २८ मा प्रदर्शन भएको ‘घर ज्वाइँ’ले बक्स अफिसमा करिब ६ करोडभन्दा माथिको व्यापार गर्दै ब्लकबस्टर बनेको थियो भने हलमा ५१ दिन मनाउन सफल भएको थियो ।

अनिल बुढामगर निर्देशित पछिल्लो सिनेमा ‘मितज्यू’ गत जेठ ८ गतेबाट प्रदर्शनमा आएको थियो ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएका र सर्वाधिक चर्चित अन–स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसके यी दुईले दयाहाङ र मिरुनाले स्क्रिन सेयर गरेको यो आठौँ सिनेमा हुनेछ ।

विश्राम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माताहरूमा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन् ।

निर्माण पक्षले चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीको विवरण भने क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ । हाल चलचित्रको प्रि-प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको र अर्को सातादेखि नै छायांकन सुरु गरिने तयारी छ ।

अभिनेत्री मिरुनाले शुक्रबार राष्ट्रिय चलचित्र अवार्ड २०८२ अन्तर्गत चलचित्र ‘ऊनको स्वीटर’बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार ग्रहण गरेको भोलिपल्टै निर्माताले यो सिनेमाको औपचारिक घोषणा गरेका हुन् ।

निर्माण टिमका अनुसार चलचित्र ‘रातो घेरा’को कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुनेछ । साथै, दर्शकहरूले यो सिनेमाबाट फेरि पनि उत्कृष्ट सिनेमा र नयाँ किसिमको सिनेम्याटिक अनुभवको पाउने दाबी निर्माण पक्षको छ ।

यस सिनेमालाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्ने जिम्मा लिएको छ ।