‘झिंगे दाउ २’ का तीन फरक पोस्टरमा देखियो उमंग र पारिवारिक कौतुहलता

काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’का नयाँ पोष्टर सार्वजनिक भएका छन् ।

निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले आफ्नो सफल सिनेमा ‘झिंगे दाउ’को सिक्वेल ‘झिंगे दाउ २’का सोमबार तीनवटा भिन्न शैलीका पोस्टर सार्वजनिक गरेका हुन् ।

एउटा पोस्टरमा चलचित्रका मुख्य चार पात्रहरूलाई दशैंको परिवेशमा प्रस्तुत गरिएको छ । चङ्गा उडाउँदै रमाइलो गरिरहेका कलाकारहरूको मुद्राले यो चलचित्रमा नेपालीहरूको महान् चाड दशैंको परिवेश र त्यसले ल्याउने खुसीलाई विशेष प्राथमिकता दिइएको प्रष्ट पार्छ ।

अर्को एक पोस्टरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मालाई अत्यन्त हर्षित मुद्रामा देख्न सकिन्छ भने अर्कोतर्फ हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्टका अनुहारमा गम्भीर र भावुक भाव झल्किएको छ । यसले चलचित्रमा प्रेम र मिलन मात्र नभई पारिवारिक संघर्ष र भावनाको गहिराइ पनि रहेको संकेत गर्छ ।

यस्तै एक पोस्टरमा चकलेटी नायक आर्यन सिग्देललाई पनि स्थान दिइएको छ । जसमा चलचित्रका चार मुख्य पात्रहरू केही कुराले निकै अचम्मित परेको देखिन्छन् र आर्यनले उनीहरूलाई रोक्न खोजेको जस्तो देखिन्छ । यसले चलचित्रमा कमेडी र सस्पेन्सको राम्रो मिश्रण रहेको अनुमान गर्न सकिन्छ ।

असोज २ गते प्रदर्शन हुने यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।

परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन् ।

मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

चलचित्र ‘झिंगे दाउ’ले २०७९ भाद्र १६ प्रदर्शन भएर बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेको थियो । सोही सफलताको विरासतलाई बोकेर निर्माण भएको ‘झिंगे दाउ २’ले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।