बक्स अफिसमा ‘रोल नं. १’ को फड्को, डेढ करोड माथिको कमाइ गर्दै बन्यो वर्षकै तेस्रो सफल चलचित्र
काठमाडौं । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोल नं. १’ को कमाइ डेढ करोड माथि पुगेको छ । यस चलचित्रले रिलिजको चौथो हप्तासम्म आइपुग्दा डेढ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको हो ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार, गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको यस चलचित्रले पछिल्लो आइतबारसम्म कुल १ करोड ५५ लाख ४६ हजार ६६८ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
सिनेपाः बक्स अफिसमा ‘रोल नं. १’ को ५७ हजार १३२ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ ।
शैक्षिक र सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रले असार ७ गतेसम्ममा उक्त कमाइ गरेसँगै ‘रोल नं. १’ यस वर्षको (२०८३ साल) प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये धेरै कमाउने सूचीको तेस्रो स्थानमा उक्लन सफल भएको छ ।
दोस्रो स्थानमा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा अभिनीत ‘परालको आगो’ रहेको छ । अहिले अधिकांश हलबाट उत्रिसकेको यो चलचित्रको कमाइ ४ करोड २८ लाख ११ हजार ४५५ रूपैयाँ छ । यो चलचित्र बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको थियो ।
जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । चलचित्रमा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
यस्तै सोही दिन रिलिजमा आएको अर्को चलचित्र ‘कुम्भ’ ले ४ लाख २५ हजार ८८५ रूपैयाँ ग्रस कमाएको छ । यस चलचित्रको कुल १ हजार ८१५ वटा मात्र टिकट बिक्री भएको देखिन्छ ।

