निखिलको ११ वर्षपछिको कमब्याक, कहिले आउँदैछ ‘आचार्य’ ?
काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘आचार्य’को प्रदर्शन मितिलाई लिएर लामो समयदेखि सिनेवृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् ।
छायांकन सकिएको करिब ५ महिना बितिसक्दा पनि निर्माण पक्षले आधिकारिक मिति तोक्न नसक्दा दर्शकमा कौतुहलता र चासो उत्तिकै बढेको छ । तर, पछिल्लो जानकारी अनुसार निखिलले यो फिल्म आगामी साउन २९ गते प्रदर्शन गर्ने आन्तरिक तयारी थालेका छन् ।
दशैंअघि नै चलचित्र रिलिज गर्ने लक्ष्य राखेका निखिलले भदौ महिनामा पर्ने विभिन्न चाडपर्व र बिदाहरूलाई सदुपयोग गर्न ‘साउन २९’ को मिति रोजेको बुझिएको छ । आधिकारिक घोषणा नभए पनि चलचित्रको निकट स्रोतले उक्त मितिमा ‘आचार्य’ आउने लगभग पक्का भएको दाबी गरेको छ ।
निखिल अहिले चलचित्रको ‘फर्स्टलुक पोस्टर’ तयार पार्न व्यस्त छन् र केही दिनमै पोस्टरमार्फत आधिकारिक मिति सार्वजनिक गर्ने योजनामा छन् ।
सोमबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा निर्देशक तथा अभिनेता निखिल स्वयंले चलचित्र साउनमा आउन सक्ने स्पष्ट संकेत दिएका छन् । यद्यपि, प्राविधिक कामको जटिलताका कारण उनले मुखै खोलेर मिति भन्न भने चाहेनन् ।
निखिलले भने, “फिल्मको प्राविधिक काम अलि चुनौतीपूर्ण छ, विशेषगरी ग्राफिक्स र ब्याकग्राउण्ड स्कोरमा हामी ‘डे-नाइट’ खटिरहेका छौं । ब्याकग्राउण्डको काम अहिले नेपाल बाहिर भइरहेको छ । प्राविधिक रूपमा काम शतप्रतिशत सकिने सुनिश्चित नभएसम्म मिति तोक्न हतार नगरेका हौं, तर हाम्रो लक्ष्य साउनमै फिल्म ल्याउने हो ।”
चलचित्र ‘आचार्य’ निखिल उप्रेतीका लागि केवल एउटा सिनेमा मात्र नभई निर्देशकको रूपमा उनको पुनरागमन पनि हो । सन् २०१५ मा रिलिज चलचित्र ‘भैरव’ निर्देशन गरेका निखिल करिब ११ वर्षपछि पुन: निर्देशनको भूमिकामा फर्किएका हुन् । त्यसैले पनि यस चलचित्रलाई लिएर उनले निकै मेहनत गरिरहेका छन् ।
चलचित्रमा निखिल उप्रेतीका साथै सञ्चिता लुईंटेल, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी र पूर्णिका सिंजापति मुख्य भूमिकामा छन् । यसका साथै भारतीय चलचित्र उद्योगका स्थापित कलाकार दीपराज राणा पनि यो चलचित्रमा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
एक्शन र सामाजिक विषयवस्तुमा आधारित भनिएको ‘आचार्य’ ले नेपाली बक्स अफिसमा कस्तो प्रभाव पार्ला, त्यो त चलचित्र प्रदर्शनपछि नै थाहा हुनेछ । तर, निखिलको कमब्याकलाई लिएर उनका फ्यानहरू भने निकै उत्साहित देखिएका छन् ।

