नेपाली चलचित्रको पहिलो संगीतकारको को हो ?
काठमाडौं । नेपाली सांगीतिक उद्योगका खम्बा हुन्, नातिकाजी र शिवशंकर मानन्धर । नेपाली संगीतको जग बसाएको श्रेय यी दुई संगीतकारलाई जान्छ ।
यी दुई संगीतकार नेपाली सिनेमा उद्योगका यस्ता व्यक्ति हुन्, जसले नेपाली चलचित्रमा संगीत गर्न सुरु गरे । उनीहरूले चलचित्रमा संगीत गर्न सुरु मात्रै गरेनन्, नेपाली संगीतकारले पनि चलचित्रमा संगीत गर्न सक्छन् भनेर प्रमाणित गरे ।
नातिकाजी र शिवशंकर मानन्धरले चलचित्र ‘मनको बाँध’मा संगीत गरेका थिए ।
यो चलचित्र वि.सं. २०३० फागुन ७ मा रिलिज भएको थियो । शाही नेपाल चलचित्र संस्थानले निमार्ण गरेको यस चलचित्रमा नातिकाजी र शिवशंकर मानन्धरको संयुक्त रुपमा संगीत गरेका थिए ।
प्रकाश थापाले निर्देशन गरेको योे चलचित्रलमा नातिकाजी र शिवशंकर मानन्धरले गरेको संयुक्त प्रयासले नेपाली चलचित्र संगीतको पहिलो आधारशिला तयार पारेको थियो । त्यसैले पनि नातिकाजी र शिवशंकरलाई नेपाली चलचित्र संगीतका भिष्म पितामहको रूपमा लिइन्छ ।
‘मनको बाँध’सँग थुप्रै रेकर्ड रहेका छन् । यो निर्देशक प्रकाश थापाको डेब्यु चलचित्र थियो । यही फिल्मबाट बैकुण्ठमान मास्केले छायांकारको रुपमा डेब्यु गरेका थिए । उनी पहिलो नेपाली छायांकार हुन् ।
यही चलचित्रबाट स्टिल फोटोग्राफीको पनि सुरुवात भएको थियो । मञ्जुकुमार श्रेष्ठले पहिलो पल्ट स्टिल फोटोग्राफी सुरु गरेका थिए ।
यही सिनेमामा उत्तम नेपालीले इन्डोर सुटिंगका लागि सेट बनाएर पहिलो कला निर्देशक बनेका थिए । मनोरञ्जन कर छुट पाउने पहिलो सिनेमा पनि यही हो ।

