‘रोल नं. १’ ले १ करोड ६८ लाख बढी कमाउँदा ५१औँ दिन मनाएको ‘लालीबजार’को कमाइ कति ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।

सोमबार बोर्डले सार्वजनिक गरेको आइतबारसम्मको सिनेपाः बक्स अफिस विवरण अनुसार चलचित्र ‘लालीबजार’ले ९ करोड ३१ लाख ७७ हजार ६९० रूपैयाँ ग्रस कमाइ गरेको छ ।

 वैशाख २५ गते रिलिज भएको चलचित्रको ३ लाख १६ हजार ९३० वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ ।

यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल सिनेमामध्ये एक बनेको छ ।

यम थापा निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै, सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोल नं. १’ ले रिलिजको पाँचौ हप्तासम्म आइपुग्दा १ करोड ६८ लाख ९५ हजार ९ सय ३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । उक्त कमाइ हुँदा चलचित्रको ६५ हजार ३ सय ५ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।

चलचित्र ‘रोल नं. १’ यस वर्ष प्रदर्शनमा आएका नेपाली सिनेमामध्ये धेरै कमाउने सूचीको तेस्रो हो । दोस्रो स्थानमा ‘परालको आगो’ रहेको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्र ‘रोल नं. १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्माता छत्रमाया गिरी र रमेश चौलागाईं हुन् । चलचित्रमा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।