कलेज-कलेजमा ‘हली’ को टिम

काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘हली’ले प्रदर्शन मिति नजिकिएसँगै आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएको छ ।

आगामी साउन २२ गतेबाट रिलिज हुने तयारीमा रहेको सिनेमाको निर्माण टिम यतिबेला काठमाडौंका विभिन्न स्कुल तथा कलेजहरूमा पुगेर दर्शकसँग साक्षत्कार गरिरहेको हो ।

सुदूरपश्चिम र कर्णाली क्षेत्रको छाउपडी प्रथालाई चित्रण गरेको चलचित्रको प्रचारकालागि मुख्य अभिनेता प्रमोद दीप, अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ खटिएका छन् ।

काठमाडौंका अधिकांश शैक्षिक संस्थाहरूमा पुगेर कलाकारहरूले चलचित्रको विषयवस्तु र आफ्नो भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी दिइरहेका छन् । किसानको वास्तविक पीडा र उनीहरूको योगदानलाई सिनेमाले समेटेका कारण पनि विद्यार्थी र युवा पुस्तामाझ यसले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्ष र कलाकाको दाबी छ ।

‘हली’को मूल मर्म किसानको श्रम र उनीहरूको सामाजिक अवस्थामा केन्द्रित छ । विशेषगरी, देशको मूल आधार कृषि भए पनि किसानहरू सधैं किन पछाडि पारिन्छन् भन्ने प्रश्न चलचित्रले उठाएको छ । ‘देशमा आमूल परिवर्तन ल्याउनका लागि ठुला भाषण होइन, एउटा सचेत ‘हली’ नै काफी हुन्छ’ भन्ने सशक्त सन्देश यसले बोकेको निर्देशक ओम प्रतीक बताउँछन् ।

यस चलचित्रमा प्रमोद दीप र सुजाता थापाका साथै वरिष्ठ कलाकार सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विशाल पहाडी, नवीन श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चलचित्रको एउटा विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई देख्न सकिनेछ । उक्त गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन् ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले लगानी गरेका छन् । सिनेमाका कार्यकारी निर्माताको रूपमा अर्जुन भुसाल र सहनिर्मात्रीको रूपमा नम्रता भण्डारी रहेका छन् ।

यो चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत छ । राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको यस सिनेमालाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ ।

वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको ‘हली’ले समाजमा जकडिएको अन्धविश्वासलाई चिर्ने अपेक्षा निर्माण टिमले गरेको छ ।

‘हली’ लाई नेसनल सिने ग्रुप प्रालिले वितरणको जिम्मा लिएको छ ।