राजपाल यादवलाई तीन महिनाको जेल सजाय
काठमाडौं । बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ ।
चेक बाउन्सको पुरानो मुद्दामा दिल्ली उच्च अदालतका न्यायाधीश स्वर्ण कान्ता शर्माको इजलासले तल्लो अदालतको फैसलालाई सदर गर्दै यादवलाई दोषी ठहर गरेको हो ।
वर्षौंदेखि चल्दै आएको चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले उनलाई तीन महिनाको जेल सजाय सुनाएको राजपाल यादवविरुद्ध मुद्दा दायर गर्ने कम्पनीका वकिलले बताएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
अदालतले आफ्नो फैसलामा भनेको छ कि यादवले पटक-पटक दिइएको मौकाको सदुपयोग गर्न सकेनन् र अदालतसामु गरेका बाचाहरू उल्लंघन गरे ।
अदालतले यादव र उनकी पत्नी राधा यादवदुवैलाई उजुरीकर्ताको बाँकी रकम भुक्तानी गर्न आदेश दिएको छ । ऋण तिर्न नसकेकै कारण अब उनले तीन महिना जेलमा बिताउनुपर्ने भएको छ ।
घटना सन् २०१० को हो । अभिनेता राजपालले आफ्नो फिल्म ‘अता, पता, लापता’ निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड नामक निजी कम्पनीबाट करिब ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए । तर, फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएपछि लगानी डुब्यो र उनी कम्पनीको ऋण चुक्ता गर्न असफल भए ।
यादवले पटकपटक ऋण तिर्ने आश्वासन दिए पनि पूरा गर्न सकेनन् । अदालतले समय-समयमा आदेश जारी गरे पनि उनले ती आदेशको पालना गरेनन् । पछि, उनले कम्पनीलाई दिएका सात वटा चेक बाउन्स भएपछि उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरिएको थियो ।
सन् २०१८ मा पहिलो पटक दिल्लीको तल्लो अदालतले राजपाल यादवलाई यसै मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । सोही वर्ष यो मुद्दा दिल्ली उच्च अदालत पुगेको थियो । यहाँ अदालतले उनको सजाय कार्यान्वयनमा रोक लगायो ।
विगतका वर्षहरूमा अदालतले यादवलाई ऋण तिर्न समय दिँदै सजायमा धेरै पटक रोक लगायो । तर, उनी रकम तिर्न असमर्थ रहे । त्यसपछि अदालतले यसै वर्षको फेब्रुअरीमा उनलाई जेल अधिकारीहरूसामु आत्मसमर्पण गर्न आदेश दिएको थियो ।
आदेशबमोजिम फेब्रुअरी २०२४ मा केही दिन जेल बसेपछि डेढ करोड रुपैयाँको किस्ता जम्मा गरेर उनले अन्तरिम जमानत पाएका थिए । तर, त्यसपछि पनि उनले अदालतसामु गरेको बाँकी रकम तिर्ने आश्वासन पूरा गर्न नसकेपछि अहिले उच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको हो ।

