आफ्नै अभिनय देखेपछि चकित परिन् न्यान्सी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा उदयमान अभिनेत्रीका रूपमा आफूलाई स्थापित गर्दै गरेकी मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का यतिबेला आफ्नो चलचित्र ‘अक्षरा’को अन्तिम तयारीमा जुटेकी छन् ।

आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रको प्राविधिक कार्यहरू अहिले तीव्र गतिमा भइरहेका छन् ।

यसै सिलसिलामा शुक्रबार काठमाडौँको एक स्टुडियोमा अभिनेत्री न्यान्सीले आफ्नो भागको डबिङ कार्य सम्पन्न गरेकी छन् । डबिङका क्रममा पर्दामा आफ्नो जीवन्त अभिनय र चरित्रको गहिराइ देख्दा उनी निकै प्रफुल्लित देखिएकी थिइन् ।

डबिङपछि कुराकानी गर्दै उनले भनिन्, “पर्दामा आफ्नो काम देख्दा म आफैँ पनि केही बेर त चकित परेँ । आफ्नो भूमिकालाई न्याय दिन सकेको महसुस भएको छ, जसले मलाई निकै सन्तुष्टि र ऊर्जा दिएको छ ।”

सुपरहिट चलचित्र ‘१२ गाउँ’ बाट नेपाली रजतपटमा पाइला टेकेकी न्यान्सीका लागि ‘अक्षरा’ विशेष अर्थ राख्ने सिनेमा हो । यसअघि अभिनेता अनमोल केसीसँग ‘बाटुलो जून’मा अभिनय गरे तापनि एकल मुख्य अभिनेत्रीको रूपमा भने उनी यसै चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत हुँदैछिन् ।

यस चलचित्रमा उनले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको महसुस गर्दै विशेष मिहिनेत गरेको निर्माण पक्षले जनाएको छ ।

‘अक्षरा’मा न्यान्सीको अपोजिटमा अभिनेता सुशील सिटौला रहेका छन् । यी दुईको केमेस्ट्रीलाई लिएर निकै चर्चा हुने निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा सुशील र न्यान्सीका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहनेछ । साथै, बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गानाले भूमिका निर्वाह गरेका छन् ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सोनी थापा (ढुङ्गाना) ले प्रस्तुत गरेकी हुन् । विनयराज पौडेलको निर्देशन र लेखन रहेको यस चलचित्रको मूल कथा उग्रसेन ढुङ्गानाले तयार पारेका हुन् ।

फिल्मलाई उग्रसेन र सुग्रसेन ढुङ्गानाले संयुक्त रूपमा निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।

अभिमन्यु निरवी र निर्देशक पौडेलको पटकथा तथा संवाद रहेको चलचित्रमा दिपेन बस्न्यातको सिनेमाटोग्राफी, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको एक्सन निर्देशन रहेको छ ।

नेसनल सिने ग्रुपका दीपक दंगालले वितरणको जिम्मा लिएको यो चलचित्रले नेपाली बक्स अफिसमा कस्तो प्रभाव पार्ने हो, त्यो भने भदौ २६ गते नै थाहा हुनेछ ।