नेपाली सिनेमाको पहिलो नायक को हो ?

काठमाडौं । पहिलो नेपाली सिनेमासँग थुप्रै रेकर्ड छन् । पहिलो चलचित्र भएकाले यो सँग धेरै रेकर्ड हुनु स्वभाविक पनि हो । पहिलो नेपाली चलचित्र ‘आमा’ (२०२२) हो । र, यसको नायक शिवशंकर मानन्धर हुन् । शिवशंकर मानन्धर नै नेपाली सिनेमाको पहिलो नायक हुन् ।

शिवशंकर गायक तथा संगीतकार पनि हुन् । उनको जन्म १०८९ फागुन १२ गते काठमाडौंको पाको, न्युरोडमा भएको थियो । सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्ने शिवशंकरले रेडियो नेपालको स्थापना कालदेखि नै सांगीतिक यात्रा सुरु गरेका थिए ।

शिवशंकर मानन्धरले गाएका थुप्रै गीतहरू लोकप्रिय भएका छन् । उनी आफैँ कुशल संगीतकार भएकाले अरूको संगीतमा गीत गाउन मन पराउँदैनथे । शिवशंकरले गाएको पहिलो गीत ‘अभाव तिम्रो खट्किन्छ’ थियो । यस गीतका रचनाकार श्यामदास वैष्णव हुन् ।

शिवशंकर मानन्धरले तीन सय गीत गाएका छन् ।

नेपाली चलचित्रमा पहिलो नायकका रूपमा प्रवेश गरेका शिवशंकरले ‘मनको बाँध’, ‘कुमारी’, ‘२५ वसन्त’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरूमा संगीतकारका रूपमा रही नेपाली चलचित्र क्षेत्रमा योगदान गरे ।

उनले ‘आमा’ चलचित्रमा आफ्नै लागि पार्श्व स्वर दिएका थिए । यसरी आफैंले अभिनय गरेको दृश्यका लागि आफैंले गीत पनि गाउने उनी नेपाली चलचित्रका पहिलो व्यक्ति पनि हुन् ।

शिवशंकर मानन्धरको ७२ वर्षको उमेरमा २०६१ कात्तिक २९ गते निधन भएको थियो ।