भ्रमबाट बाहिर निस्किएर सम्हालिएर काम गर

रिलिजको संघारमा रहेको चलचित्र ‘मास्टर्नी’ लाई गीतले धोका दिएको छ । प्रोमोसनल सङ भनेर निकालेको गीतले नै चलचित्रलाई धोका दिएको हो ।

आम दर्शकमाझ चलचित्रको प्रचारप्रसार हुन्छ भनेर निर्मात्री समेत रहेकी प्रियंका कार्कीले दुर्गेश थापालाई गीत गाउन लगाइन् । दुर्गेशले प्रियंकाका लागि गीत पनि तयार पारिदिए । तर, त्यही गीत यतिबेला ‘प्रियंका’का लागि ब्याक फायर भइरहेको छ ।

गीतले महिला शिक्षकको भावनामा खेलवाड गर्यो । महिला शिक्षकको अपमान गर्ने काम गर्यो भन्दै शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघले तत्काल गीत हटाउन चेतावनी समेत दिएको छ ।

चलचित्रको नाम नै ‘मास्टर्नी’ छ । तर, ‘मास्टर्नी’कै अपमान हुनेगरी शब्द र भिडियो प्ले भएपछि शिक्षक महासंघले आपत्ति जनाएको हो ।

शिक्षक महासंघले मात्रै होइन, सामाजिक सञ्जाल हेर्दा अरुले पनि यसमा आपत्ति जनाउँदै गएका छन् । कतिपयले यो सिनेमालाई बहिष्कार गर्नुपर्छ भन्न थालेका छन् । यो क्रम बढ्दै जाने निश्चित छ ।

गीतमा कलाका नाममा केही पनि नरहेको भन्दै गीत हटाउन दबाब दिनु पर्दैन, यस्ता चलचित्र हलमा कोही पनि नगएपछि त्यही नै सजाय हुनेछ भनेर सामाजिक सञ्जालमा लेखेका पोस्टहरू देखिन थालेका छन् ।

चलचित्रको निर्देशक, निर्माता र कलाकारका लागि यो सबैभन्दा ठूलो सजाय हो । प्रचारका लागि लाखौँ खर्च गरेर तयार गरिएको गीतले उल्टै सिनेमालाई घाटा पु¥याउने देखिरहेको छ । त्यसो त सिनेमाको प्रचारका लागि भनेर आजकाल ओएसटी भन्दै प्रोमोसनल गीत निकाल्ने चलन चलेको छ । यस्तो गीत प्रचारका लागि मात्रै हुन्छ । चलचित्रभित्र हुँदैन ।

त्यसैले सिनेमा नहेरी अहिले नै चलचित्र नै बहिष्कार गरौँ भन्नु चाहिँ अलि धेरै नै हतार हुन्छ । चलचित्रका अन्य कन्टेन्ट हेरिसकेपछि र सिनेमाको प्रारम्भिक प्रतिक्रिया सुनेपछि हेर्ने कि नहर्ने निणर्य गर्दा सायद लगानीकर्तालाई न्याय होला ।

तर, प्रचारका नाममा कलाकार आफैँ भने सम्हालिनुपर्छ । कतिसम्म फ्रिडम उपभोग गर्ने, कतिसम्मलाई दर्शकले स्वीकार गर्छन्, चलचित्रको विषय के हो र विषय सुहाउँदो प्रचार सामग्री के हुन्छ भनेर अक्कल चाहिँ पु¥याउनुपर्छ ।

प्रचारमा नाममा सस्तो सामग्री ल्याएर इज्जत नै दाउमा राख्नु हुँदैन । डबल मिनिङ लाग्ने र भल्गर सामग्री ल्यायो भने ट्रिगर आफैँतिर सोझिन्छ भन्ने हेक्का चाहिँ सबैले राख्नुपर्छ । दर्शकले जे पनि स्वीकार्छन भन्ने भ्रम जतिसुकै लोकप्रिय भए पनि कसैले पाल्नु हुँदैन भन्ने ‘मास्टर्नी’ले सिकाएको छ । यो सबैले मनन् गर्ने विषय हो ।