दुर्गेशले माफी माग्दै हटाए ‘मास्टर्नी’को गीत, सच्चिने प्रतिबद्धता

काठमाडौं । कलाकार दुर्गेश थापाले चलचित्र ‘मास्टर्नी’को गीत आफ्नो युट्युब च्यानलबाट हटाएका छन् । उनले माफी माग्दै आफ्नो युट्युब च्यानलबाट गीत हटाएका हुन् ।

गीतको शब्द र प्रस्तुतिलाई लिएर आपत्ति हुन थालेपछि उनले माफी माग्दै गीत हटाएका हुन् । शिक्षक महासंघलगायत विभिन्न व्यक्ति र संस्थाले गीत तत्काल हटाउन चेतावनी दिएका थिए ।

“पछिल्लो समय चलचित्र मास्टर्नीको प्रचारका लागि हामीले प्रस्तुत गरेको सांगीतिक कोसेलीप्रति यहाँहरुले दिनुभएको माया, साथ, समीक्षा, आलोचना तथा सुझावलाई हामीले खुलेर स्वीकार गरेका छौं,” दुर्गेशले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो उद्देश्य कुनै पनि पेशा, व्यक्तित्व, सम्मान वा कसैको भावनामा चोट पुर्‍याउने कदापि थिएन । यो गीत विशुद्ध रूपमा चलचित्रको प्रचार–प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको थियो ।”

उक्त गीतका केही शब्द तथा प्रस्तुतीकरणका कारण दर्शक, शिक्षक–शिक्षिका, गुरुजनहरुको भावनामा ठेस पुगेको महसुस भएको उनले बताएका छन् ।

“त्यसप्रति म तथा सम्पूर्ण टिमको तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछौं । शिक्षक भनेका समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र हुनुहुन्छ । उहाँहरुप्रति मेरो सम्मान सधैँ अटल रहिरहनेछ,” उनले अगाडि लेखेका छन्, “यस गीतप्रति प्राप्त भएका सम्पूर्ण सुझावलाई मध्यनजर गर्दै मेरा भगवानरूपी दर्शकहरुको भावनाको सम्मान स्वरूप “मास्टर्नी” गीतलाई दुर्गेश थापा युट्युब च्यानल तथा मेरा अन्य सामाजिक सञ्जालहरुबाट आधिकारिक रुपमा हटाइएको जानकारी गराउँदछु ।”

उनले दर्शकले दिएको प्रत्येक सल्लाह र सुझाव अमूल्य रहेको उनले बताएका छन् । “सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा अझ जिम्मेवार, उत्कृष्ट तथा यहाँहरुको मन जित्ने सिर्जना लिएर आउने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भनेका छन् ।

यस्तै, चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले पनि उक्त गीत सिनेमाभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार–प्रसारका लागि मात्र तयार गरिएको बताएकी छन् ।

प्रियंकाले लेखेकी छन्, ‘हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु ।’

कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक-शिक्षिका पेसाको गरिमामा आँच पुर्‍याउने कुनै मनसाय नरहेको बताउँदै उनले गल्ती महसुस गरेको उल्लेख गरेकी छन् ।

गायक थापा र सिनेमा निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् ।