उच्श्रृंखल र छाडा सामग्री नल्याउ, जिम्मेवार बन
चलचित्र समाजको ऐना हो । समाजको मुहार हो । समाजको प्रतिविम्ब हो । त्यसैले समाज चलचित्रमा छर्लंग देखिनु पर्छ । यसैले त सिनेमामा समाज हुन्छ, समाजका घटनाक्रम हुन्छन् । समाजको कला, संस्कृति, भाषा, भेष र परिवेश हुन्छ ।
सिनेमा फगत मनोरञ्जन मात्रै होइन । यो सूचना र शिक्षाको सम्बाहक पनि हो । सिनेमालाई समाज रुपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ । त्यसैले त यसलाई सफ्ट पावर मानिन्छ । जसले यसको महत्व र शक्तिलाई बुझेका छन्, उनीहरूले चलचित्रमा ठूलो लगानी गरेका छन् । दुई छिमेकी देश नै यसको राम्रो उदाहरण हो ।
कसैले स्वीकार गरोस् वा नगरोस्, चलचित्र समाज रुपान्तरण र ब्रेन वासको महोत्वपूर्ण माध्यम हो । त्यसैले यसका सर्जकहरू चलचित्र निर्माणमा सचेत हुनुपर्छ । मैले बनाउँदै गरेको चलचित्रको विषय र प्रस्तुति कस्तो छ, यसले खेल्ने भूमिका के हो ? यसले कस्तो असर पार्छ भनेर मेकर गम्भीर हुनै पर्छ ।
सिनेमा समाज रुपान्तरणको सशक्त माध्यम हो भनेर मान्ने, यसलाई सफ्ट पावर पनि मान्ने, राज्यले सिनेमा उद्योगलाई गम्भीर रुपमा लिएन भनेर गुनासो पनि गर्ने अनि आफैँ समाजलाई नै विकृत बनाउने सिनेमाका सामग्री दिन मिल्छ ?
पछिल्लो एउटा उदाहरणका रुपमा ‘मास्टर्नी’को हटाइएको गीत ‘मास्टर्नी’लाई नै लियौँ । यो गीत सुनेर बच्चाहरूले के पाठ सिके, यस्तो गीत अभिभावकले सुनाउने कि नसुनाउने ? यस्तो गीतलाई प्रोमोट कसरी गर्ने ?
सरकार र समाजका अरू पक्षले चलचित्रलाई महत्व दिएन भनेर गुनासै गुनासा गर्नेले आफ्नो छोराछोरीसँग बसेर सुन्न र हेर्न मिल्ने चलचित्रका कन्टेन्ट ल्याउन मिल्दैन ।
अरुबाट सम्मान र सहयोग खोज्नेले आफू पनि उनीहरूप्रति त्यति नै जिम्मेवार हुनुपर्छ । होइन भने ‘टिट फर ट्याट’ अथवा जस्तालाई त्यस्तै नै ब्यबाहार हुने हो भन्ने चेतना सबैमा हुनुपर्छ । आफू चाहिँ उच्श्रृंखल र छाडा सामग्री ल्याउने अनि सहयोग पाइएन, आलोचना भयो भनेर गुनासो गर्न मिल्दैन । के सही र के गलत भन्ने छुट्याउन सक्नुपर्छ ।


