‘पेन्सन पट्टा’ हरेपछि दर्शकले आफूसँगै एउटा प्रश्न बोकेर जाऊन्- निर्देशक गुरुङ

काठमाडौं । निर्देशक माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ आगामी भदौ २६ गते देखि देशभरका हलमा प्रदर्शन हुँदैछ ।

‘दयारानी’ जस्तो प्रशंसित सिनेमा निर्देशन गरिसकेका गुरुङले यसपटक ‘पेन्सन पट्टा’ मार्फत मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिको एउटा गहिरो अध्याय खोल्ने प्रयास गरेको बताउँछन् ।

निर्देशक गुरुङका लागि ‘पेन्सन पट्टा’ केवल एउटा नयाँ प्रोजेक्ट मात्र होइन, यो उनको झन्डै १५ वर्षदेखिको सपना हो । उनले यस विषयमा विगत डेढ दशकदेखि अध्ययन र अनुभव संगाल्दै आएका थिए । लामो समयको परिपक्वता पछि मात्र उनले यो कथालाई पर्दामा उतार्ने साहस जुटाएका हुन् । भीडको पछि लाग्नुभन्दा पनि कन्टेन्ट र मौलिक शैलीमा कथा भन्नु उनको विशेषता हो, जुन यस फिल्ममा पनि देख्न सकिने दाबी छ ।

फिल्मले अहिलेको भौतिकवादी युगमा एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ- “जीवनमा सबै कुरा प्राप्त गर्नु नै सफलता हो त?”

निर्देशक गुरुङका अनुसार, कहिलेकाहीँ आफूले पाउन सक्ने कुरा पनि अरूका लागि छोडिदिन सक्नु नै सबैभन्दा ठूलो विजय हो । सिनेमाले धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिने त्याग र त्यसबाट प्राप्त हुने ‘आत्माको सन्तुष्टि’ लाई केन्द्रमा राखेको छ । लाहुरे परिवारको परिवेशमा बुनिएको यो कथाले समाजको वास्तविक र संवेदनशील पाटोलाई सिनेमिक रूपमा प्रस्तुत गरेको छ ।

‘पेन्सन पट्टा’ को अर्को मुख्य आकर्षण भनेको ‘अव्यक्त प्रेम’ हो । यस्तो प्रेम जुन मनभित्र गहिरो गरी बसेको हुन्छ, तर परिस्थितिका कारण शब्दमा कहिल्यै व्यक्त हुन सक्दैन । अहिलेको बदलिँदो समयमा प्रेमको परिभाषा खोजिरहेका दर्शकका लागि यो फिल्मले प्रेमको एउटा नयाँ र अर्थपूर्ण आयाम पस्कने विश्वास छ ।

चलचित्रको सार्वजनिक भइसकेको गीतले अहिले नै चर्चा कमाइसकेको छ । गुरुङ समुदायमा प्रचलित परम्परागत ‘थिएटर शैली’ को नृत्यलाई आधुनिक सिनेमाको स्वरूपमा ढालिएको छ । यसले गण्डकी प्रदेशको मौलिक कला र संस्कृतिलाई मात्र प्रवर्द्धन गरेको छैन, बरु सिनेमाप्रति आम दर्शकको उत्सुकतालाई पनि थप बलियो बनाएको छ। मौलिक संगीत र जीवन्त दृश्यहरू फिल्मका प्राविधिक सबल पक्ष हुन्।

निर्देशक गुरुङ चाहन्छन् कि दर्शक जब हलबाट फर्किन्छन्, उनीहरूले आफूसँगै एउटा प्रश्न बोकेर जाऊन्– “मेरो जीवनको वास्तविक सम्पत्ति के हो?”

यदि चलचित्रले दर्शकलाई आफ्नो जीवन, सम्बन्ध र मूल्यबोधबारे पुन: सोच्न बाध्य बनायो भने, ‘पेन्सन पट्टा’ व्यावसायिक रूपमा मात्र होइन, वैचारिक रूपमा पनि एउटा सफल फिल्म ठहरिनेछ । भदौ २६ गतेपछि यसको फैसला दर्शकको हातमा हुनेछ ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई लगायतका कलाकारको मुख्य भूमिका छ । साथै, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरको समेत अभिनय यसमा देख्न सकिनेछ ।