‘झिंगे दाउ–२’को टिजरमा देउरानी र जेठानीको झगडाले तहसनहस भएको परिवार
काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार कार्यक्रम आयोजना गरेर टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा पारिवारिक झगडा छ । देउरानी र जेठानीबीचको झगडा र त्यसको बीचमा बिलखबन्धनमा पर्ने दाजुभाइको कथा टिजरमा देखिन्छ । आमाको माया र आमाको अनुपस्थितिको घरलाई टिजरले केन्द्रमा राखेको छ ।
अंशबण्डाको झगडाले तहसनहस भएको सम्बन्ध, आमा हराएको केस र त्यसमा प्रहरीले गरेको शंका टिजरमा देखिन्छ । विवाह नगर्दासम्म ठिकठाक रहेको घर कसरी जेठानी र देउरानको झगडासँगै तहसनहस हुन्छ भन्ने कथा सिनेमाले भन्ने टिजरले संकेत गरेको छ ।
निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सफल सिनेमा ‘झिंगे दाउ’को सिक्वेल हो ‘झिंगे दाउ २’ ।
असोज २ गते प्रदर्शन हुने यस चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।
परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेका हुन् ।
मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।




