‘आचार्य’को आगोले पोल्दा निखिल-सञ्चिताको सम्बन्धमा डढेलो, ‘कुकुर र रोटी’को कटाक्ष कसलाई ?

काठमाडौं । लामो समयको प्रतीक्षापछि अभिनेता निखिल उप्रेतीको कमब्याक चलचित्र भनिएको ‘आचार्य’ यतिबेला चर्चामा छ । तर, यो चर्चा सिनेमाको मेकिङलाई लिएर सकारात्मक हुनुको साटो नकारात्मक दिशातिर मोडिएको छ ।

एकातिर चलचित्रको प्राविधिक कमजोरी भीएफएक्सलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ भने अर्कोतिर निखिल र उनकी पत्नी सञ्चिता लुइटेलबीचको व्यक्तिगत सम्बन्धमा लाइलिएर सिनेवृत्त गर्माएको छ ।

करिब एक साताअघि सार्वजनिक गरिएको फिल्मको ‘फर्स्टलुक टिजर’ले दर्शकको मिश्रित प्रतिक्रिया पाएको छ । विशेषगरी, एक्सन किङका रूपमा चिनिएका निखिलले हातले आगो बलेको टायर घुमाएको दृश्यमा प्रयोग गरिएको भिएफएक्स निकै कमजोर देखिएको भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘बालबालिकाको कार्टुन’ सँग तुलना गर्दै निखिलको कमब्याक कमजोर हुने चिन्ता व्यक्त गरेका छन् । यद्यपि, निखिलका कट्टर प्रशंसकहरूले भने उनको स्क्रिन प्रेजेन्सलाई नै ठूलो मान्दै बचाउ गरिरहेका छन् । तर, फिल्मको यो प्राविधिक कमजोरी त केवल सतहको कुरा मात्र थियो, भित्र अर्कै ‘खिचडी’ पाकिरहेको रहेको देखिन्छ ।

आगामी असोज ९ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको प्रचार सुरु भइसक्दा पनि सञ्चिता लुइटेलको मौनताले धेरै प्रश्न उब्जाएको छ । उनको प्रचारमा बेवास्ता देखिनुले धेरैको कान ठाडो बनाएको छ ।

चलचित्रमा सञ्चिताको कुनै पनि संलग्नता नदेखिनु र उनले टिजर समेत सेयर नगर्नुले यो जोडीबीचको खटपट सतहमा आएको हो भन्ने धेरैको बुझाइ छ ।

‘रियल लाइफ जोडी’ निखिल र सञ्चिताको सम्बन्ध यतिबेला सिनेमाको पर्दामा भन्दा पनि व्यक्तिगत टकरावका कारण चर्चाको केन्द्रमा रहँदा ‘आचार्य’ रिलिज नहुँदै यो जोडीको सम्बन्धमा ‘भूकम्प’ आएको संकेतहरू देखिएका छन् ।

बुधबार सञ्चिताले फेसबुक स्टोरीमा राखेको एक पोस्टले बजारको चर्चालाई थप बल पुर्‍याइ दियो । उनले लेखेकी थिइन्- ‘जब तिम्रो कुकुर तिमीमाथि नै भुक्न थाल्छ, बुझ्नु उसलाई रोटी अरु कसैले दिइरहेको छ ।’

यो सांकेतिक कटाक्ष कसप्रति लक्षित थियो भन्ने सञ्चिताले खुलाएकी छैनन् र उनले केही समयमै उक्त पोस्ट हटाइन् । तर, निखिलसँगको सम्बन्ध चिसिएको खबर बाहिरिरहेका बेला आएको यो कडा टिप्पणीलाई धेरैले निखिल वा उनी निकटका व्यक्तिहरूसँग जोडेर हेरेका छन् ।

निखिल र सञ्चिताबीचको पछिल्लो टकरावको मुख्य कारण इगो र लगानी रहेको बुझिएको छ । चलचित्र निर्माणका क्रममा उनले दिएका केही सुझावहरूलाई निखिलले बेवास्ता गरेपछि उनीहरूबीच मनमुटाव सुरु भएको बताइन्छ । निकट स्रोतका अनुसार ‘आचार्य’ मा सञ्चिताले आफ्नो व्यक्तिगत कमाइको ठूलो हिस्सा लगानी गरेकी छन् ।

तर, चलचित्रमा आफ्नो नाम कतै नहुनु र टिजर समेत सेयर नगर्नुले सञ्चिताको आक्रोश चरम सीमामा पुगेको बुझ्न गाह्रो छैन । यी दुईबीचको विवाद नयाँ भने होइन । गत माघमा सर्लाहीमा फिल्मको छायांकन भइरहँदा लाइटम्यानको पारिश्रमिकको विषयलाई लिएर निखिल र सञ्चिताबीच ठूलै बहस भएको थियो । विवाद यति बढ्यो कि सञ्चिता छायांकनस्थल छाडेर काठमाडौं फर्किएकी थिइन्, जसका कारण लामो समयसम्म सुटिङ नै ठप्प भएको थियो । अहिले टिजर रिलिजको समयमा त्यो पुरानो विवादले पुनः उग्र रूप लिएको देखिन्छ ।

सञ्चिता र अभिनेता निखिलबीचको यो युद्धले फिल्मको भविष्य अन्योलमा पारेको छ । सञ्चिताको सहयोग र सहकार्य बिना फिल्मलाई हलसम्म पुर्‍याउन निखिलका लागि फलामको चिउरा चपाउनु सरह हुने विश्लेषण गरिएको छ ।

जुन सिनेमाको जग नै आपसी मनमुटावमा अडिएको छ, त्यसको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ । यदि यो जोडीले समयमै आफ्नो आपसी विवाद सुल्झाउन सकेनन् भने, निखिलको कमब्याक ‘आचार्य’ रिलिजअगावै थला पर्ने खतरा बढेको छ ।

के निखिलले सञ्चितालाई फकाउन सक्लान्? वा ‘आचार्य’ को यो आगोले यो चर्चित जोडीको सम्बन्धलाई नै खरानी बनाउने हो? यो त समयले नै बताउला, तर हाललाई भने निखिल र सञ्चिताबीचको ‘इगो वार’ले चलचित्र क्षेत्रलाई राम्रै मसला दिएको छ ।