‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘खुस्मा’ फेम निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘जलाकी’को पहिलो गीत सार्वजनिक भएको छ ।
आगामी मंसिर ४ गतेदेखि प्रदर्शन हुने चलचित्रको निर्माण पक्षले शुक्रबार ‘चाँदी जलप’ बोलको गीत सार्वजनिक गरेको हो ।
चलचित्र ‘खुस्मा’लाई व्यावसायिक रूपमा सफल बनाउन र ‘रुकुम मैकोट’ जस्तो सर्वप्रिय गीत ल्याउन सफल भएका निर्देशक मगरले ‘चाँदी जलप’ सार्वजनिक गर्दै फेरि एकपटक दर्शकलाई झुमाउने तयारी गरेका छन् । ‘रुकुम मैकोट’ गीतले गाउँदेखि सहरसम्म र विदेशमा रहेका नेपालीहरूमाझ समेत ठुलो क्रेज बनाएको थियो ।
‘खुस्मा’को सफलता पछि हौसिएका निर्देशक अशोकले ‘जलाकी’लाई पनि उत्तिकै व्यावसायिक सफलताको सन्तुलन मिलाउने प्रयास गरेका छन् । ‘चाँदी जलप’मा पनि ‘रुकुम मैकोट’ जस्तै मौलिकता र आधुनिकताको सुन्दर मिश्रण पाइएको छ, जसले गर्दा यो गीत पनि छोटो समयमै भाइरल हुने संकेत देखिएको छ ।
सार्वजनिक गीतमा चर्चित गायक एसडी योगी र गायिका अन्जु पन्तको स्वर रहेको छ । यस गीतलाई सुरेन्द्र रानाले शब्द रचना गरेका हुन् भने संगीत स्वयम् एसडी योगीले भरेका छन् । गीतको संगीत संयोजन रिकेश गुरुङ (किज) ले गरेका हुन् ।
सुरेन्द्र राईको कोरियोग्राफीमा तयार पारिएको यस भिडियोमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु रेग्मी मगर, भावना खपाङ्गी मगर, दीपिका मगर फिचर्ड छन् ।
भिडियोमा कलाकारहरूले परम्परागत नेपाली र मगर समुदायका गहनाहरू (जस्तै शिरबन्दी, पोते, ढुङ्ग्री) र रङ्गीचङ्गी सांस्कृतिक पहिरन लगाएका छन् ।
अत्यन्तै सुन्दर र कलरफुल दृश्य देखिएको भिडियोमा चङ्गा र रङ्गीबिरङ्गी तोरणहरूले उत्सवको माहोल सिर्जना गरेका छन् । यसले कुनै गाउँको ठुलो मेला वा चाडपर्वको झल्को दिन्छ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम, उपासना र शिल्पासहित माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
यो चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
रुकुम, रोल्पा, म्याग्दी, बागलुङ र पोखराका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा छायांकन गरिएको यो चलचित्रलाई शैलेन्द्र डी. कार्कीले खिचेका हुन् ।
यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो । सिनेमाको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल्स र युट्युबमा व्यापक लोकप्रिय बनेको थियो । ‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् ।
यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
सिनेमाको शीर्षक ‘जलाकी’ले मगर समुदायको एउटा गहिरो सांस्कृतिक र भावनात्मक पक्षलाई बोकेको छ । मगर समुदायमा कसैको सम्झना र मायाको प्रतीकका रूपमा ढुङ्गाले चिनो लगाएर बनाइने स्तम्भलाई ‘जलाकी’ भनिन्छ । यही मौलिक अवधारणालाई आधार बनाएर सिनेमाले त्रिकोणात्मक प्रेम कथा बुनेको छ ।




