‘मास्टर्नी’ हेर्ने दर्शकलाई स्कुटर जित्ने अवसर

काठमाडौं । आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ ।

भदौ ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण पक्षले डिजिटल वालेट ‘खल्ती’ सँग सहकार्य गर्दै एक भाग्यशाली दर्शकलाई उपहार प्रदान गर्ने घोषणा गरेको हो ।

निर्माण टिमका अनुसार भदौ ३ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा ‘खल्ती’ एपमार्फत ‘मास्टर्नी’ को टिकट खरिद गर्ने दर्शकहरू यस योजनामा सहभागी हुन पाउनेछन् । ती दर्शकमध्येबाट गोलाप्रथा (लक्की ड्र) मार्फत एक जना भाग्यशाली विजेता छनोट गरिनेछ, जसले बिगस इलेक्ट्रिक स्कुटर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

निर्माण पक्षले भनेको छ, “टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने यो सुनौलो अवसर नछुटाउनुहोस् !” यो योजनाले दर्शकलाई हलसम्म तान्न थप मद्दत पुग्ने विश्वास निर्माण टिमले लिइएको छ ।

चलचित्रलाई केन्द्रिय जाँच पास समिति (सेन्सर बोर्ड) ले ‘एडल्ट सर्टिफिकेट’ प्रदान गरेको छ । अब यो चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।

क्राइम थ्रिलर र मर्डर मिस्ट्री विधामा केन्द्रित रहेको यो चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरि, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको निर्देशन सुवेन्दु घोषले गरेका हुन् । चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार यसका कार्यकारी निर्माता हुन् ।

चलचित्रको कथा स्वयम् प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा लेखनमा उनलाई शान बस्नेतले साथ दिएका छन् । संवादमा पनि प्रियंका र शानकै सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन र राजा सिंह सिदुको सम्पादन छ ।

नेपालभर यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ ।