इमरान हाश्मीको ‘आवारापन २’ बन्यो करिअरकै ठूलो ओपनर, हलमै घोषणा गरे तेस्रो सिक्वेलको घोषणा

काठमाडौं । बलिउड अभिनेता इमरान हाश्मीका लागि सन् २०२६ सुखद मात्र होइन, ऐतिहासिक सावित भएको छ । लामो समयको व्यावसायिक असफलतापछि इमरानले ‘आवारापन २’ मार्फत बक्स अफिसमा पुनरागमन गरेका छन् ।

शुक्रबार रिलिज भएको यस चलचित्रले इमरानको दुई दशक लामो अभिनय यात्राका सबै रेकर्डहरू ध्वस्त पार्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

भारतीय ट्रेड एनालिस्ट तथा चलचित्र समीक्षक तरण आदर्शका अनुसार ‘आवारापन २’ले पहिलो दिनमै भारु २३ करोड ४० लाखको व्यापार गर्दै बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । यो व्यापारसँगै यो चलचित्र इमरान हाश्मीको करिअरकै सबैभन्दा ठूलो ‘ओपनर’ बनेको छ ।

यसअघि इमरानका ‘बादशाहो’ (१२.६० करोड) र ‘राज ३’ (१०.३५ करोड) ले बनाएको ओपनिङ रेकर्डलाई यस चलचित्रले झन्डै दोब्बर अन्तरले उछिनेको छ ।

रोचक कुरा त के छ भने सन् २००७ मा रिलिज भएको ‘आवारापन’को लाइफटाइम कलेक्सनलाई सिक्वेलले पहिलो दिनमै पार गरिदिएको छ ।

सन् २०२६ मा रिलिज भएका चलचित्रहरूमध्ये ‘धुरन्धर २’ र ‘बोर्डर २’ पछि ‘आवारापन २’ तेस्रो ठूलो ओपनिङ गर्ने चलचित्र समेत बनेको छ ।

चलचित्रको सफलतासँगै फ्यानहरूलाई सरप्राइज दिन अभिनेता इमरान हाश्मी र अभिनेत्री दिशा पटानी मुम्बईको एक थिएटरमा पुगेका थिए । दर्शकको उत्साह र माया देखेर उत्साहित भएका इमरानले हलभित्रै तेस्रो सिक्वेलको घोषणा गरे ।

दर्शकहरूलाई धन्यवाद दिँदै उनले भने, “मलाई आशा छ तपाईंहरूले ‘आवारापन २’ लाई मन पराउनुभयो । र, तपाईँहरूको यो माया देखेपछि म यो घोषणा गर्न चाहन्छु कि ‘आवारापन ३’ पनि चाँडै आउँदैछ ।”

इमरानको यो घोषणापछि हलमा उपस्थित फ्यानहरूले हुटिङ र तालीका साथ खुसी व्यक्त गरेका थिए । यससँगै सामाजिक सञ्जालमा अब तेस्रो भागको चर्चा सुरु भएको छ ।

नितिन कक्कडको निर्देशनमा तयार भएको ‘आवारापन २’ मा इमरान हाश्मी, दिशा पटानी र दिग्गज अभिनेत्री शबाना आजमी मुख्य भूमिकामा छन् ।

चलचित्रको कथा आफ्नो प्रेम प्राप्तिका लागि जुनसुकै हदसम्म जाने एक प्रेमीको वरिपरि घुम्छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए तापनि इमरान हाश्मीको अभिनय र फिल्मको ‘इन्टेन्सिटी’लाई सबैले उच्च प्रशंसा गरेका छन् ।

विगत एक दशकदेखि सोचेजस्तो सफलता पाउन नसकेका इमरानका लागि ‘आवारापन २’ एउटा ठूलो ‘टर्निङ पोइन्ट’ बनेको छ । सन् २०२६ उनको करिअरको दोस्रो इनिङको रूपमा हेरिएको छ । विशेषगरी ‘सफ्ट’ र ‘इन्टेन्स’ प्रेमकथामा रुचाइने इमरानलाई पुनः त्यही अवतारमा पाउँदा उनका पुराना फ्यानहरू निकै उत्साहित देखिएका छन् ।

View this post on Instagram

A post shared by Bollywood Hungama🎥 (@realbollywoodhungama)