नीर शाहको सिनेमाले १० दिनमा कमायो साढे २ लाख

काठमाडौं । निर्देशक तथा अभिनेता नीर शाहको चलचित्र ‘कमला मिस’ बक्सअफिसमा निकै कमजोर देखिएको छ । साउन २२ गते प्रदर्शनमा आएको यो चलचित्रले १० दिनमा जम्मा २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । १० दिनमा यो चलचित्र ७१८ जनाले हेरेका छन् ।

यो सिनेमा हलबाट उत्रिसकेको छ । एक हप्ता पनि यो चलचित्र हलमा रहन सकेन । सामाजिक मनोविज्ञानमा केन्द्रित सिनेमाको विषय राम्रो भए पनि यो सिनेमालाई दर्शकले आफ्नो रोजाइमा राखेको पाइएन ।

गत वर्ष नीर शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘परान’ वर्षकै सर्वाधिक धेरै कमाउने चलचित्र बनेको थियो, जसको हिरो नीर शाह थिए । तर, यो वर्ष उनको सिनेमा बक्सअफिसमा निकै कमजोर देखिएको छ ।

गत वर्षका सर्वाधिक हिट नीर शाह यो वर्ष एक हप्ता पनि टिक्न सकेनन् हलमा

तर, नीर शाहको सिनेमा ‘कमला मिस’ बक्सअफिसमा औषत पनि रहन सकेन । खासै हल्लाखल्ला नगरी हलका आएको यो चलचित्रले सुरुमै बजारमा हाइप बनाउन सकेको थिएन । हाइप बनाउन नसकेको यो चलचित्रले देशभर जम्मा ४० शो मात्रै पाएको थियो ।

पाएका शोमा पनि दर्शक नआएपछि सिनेमा एक हप्ता पनि हलमा टिक्क नसकेको हो ।

‘कमला मिस’ले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको थियो । यो चलचित्रमा नीर शाहसँगै रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी लगायतको अभिनय थियो ।

यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेका हुन् ।