‘गुराँस फुल्दा’ रिक्रिएसनलाई लिएर सुस्मिताले गरेको कटाक्षप्रति प्रियंकाको जवाफ
काठमाडौं । प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’का लागि ‘गुराँस फुल्दा’ को रिक्रिएसन गरेपछि अभिनेत्री सुस्मिता केसीले उक्त गीतलाई लिएर असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
सुस्मिताले करिब २५ वर्षअघि सार्वजनिक भएको लोकप्रिय गीतमा अभिनय गरेकी थिइन् । आफ्नो सदावहार गीत नयाँ संस्करण सार्वजनिक भएसँगै उनले कडा असन्तुष्टि जनाएकी थिइन् ।
अभिनेत्री सुस्मिताले नयाँ गीत र मौलिक गीत समाजिक सञ्जालमा सेयर गर्दै दर्शकको वर्षौदेखि मनमा रहेको छाप कहिल्यै फेरिँदैन भन्दै प्रियंकालाई कटाक्ष गरिन् । उनले आफ्नो गीतभन्दा रिक्रिएसन गीत उत्कृष्ट नरहेको भन्दै फेसबुकमा स्टाटसै लेखेकी थिइन् ।
उनले नयाँ संस्करणले पुरानो गीतको स्तर छुन नसकेको संकेत गर्दै प्रियंकामाथि कटाक्ष गरेकी थिइन् । सुस्मिताको यो टिप्पणीपछि सामाजिक सञ्जालमा गीतको पक्ष र विपक्षमा बहस सुरु भयो । सुस्मिताको यो टिप्पणीपछि यता चलचित्र ‘मास्टर्नी’की निर्मात्री तथा मुख्य अभिनेत्री प्रियांका कार्कीले प्रतिक्रिया दिएकी छिन् ।
पूरानो गीतको रिक्रिएसन गरेको भन्दै चर्को आलोचना भएपछि अभिनेत्री प्रियांकाले यसबारे बोलेकी हुन् ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रमका क्रममा बलिउडको उदाहरण दिँदै अभिनेत्री प्रियांकाले भनिन्, ‘राम्रै गीतहरुको रिक्रिएट हुने हो । ख्याल गर्नु पर्ने कुरा के हो भन्दा पुरानो गीतहरुको मौलिकता मार्नु भएन ।’
प्रियंकाले गीतको नयाँ संस्करणले पुरानो पुस्ताको सम्झना ताजा गराउने र नयाँ पुस्तालाई पुराना गीतसँग जोड्ने दाबी गरेकी छिन् ।
रिलिज हुनुभन्दा अगावै ‘मास्टर्नी’ विवाद र चर्चाको केन्द्रमा छ । यसअघि चलचित्रको प्रमोशनल गीत ‘म्याथ सिक्ने भए…’ का शब्द र प्रस्तुतिलाई लिएर पनि ठूलो आलोचना भएको थियो । सो गीतले शिक्षिकाको मर्यादामा आँच पुर्याएको भन्दै कतिपयले विरोध गरेका थिए । अहिले ‘गुराँस फुल्दा’ को विवादले चलचित्रलाई थप चर्चामा ल्याएको छ ।
यद्यपि, विवाद र आलोचनाका बीच चलचित्रको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । भदौ ५ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रका लागि मल्टिप्लेक्सहरूले तीन दिन अगावै बुकिङ खुल्ला गरिसकेका छन् ।
यो सिनेमालाई केन्द्रीय चलचित्र जाँच समितिले हेर्न १६ वर्षभन्दा तलका दर्शकलाई रोक लगाएको छ ।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियंकासहित सिम्रन खड्का, प्रमोद अग्रहरि, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायतका कलाकारको अभिनय रहेको छ ।
आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको चलचित्रको कथा स्वयं अभिनेत्री कार्कीले लेखेकी हुन् । चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन् भने संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन् ।




