‘मास्टर्नी’को कमाइ ४० लाख पनि पुगेन
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्मात्रीका रूपमा डेब्यु गरेको चलचित्र ‘मास्टर्नी’को व्यापारिक नतिजा निराशाजनक देखिएको छ ।
भदौ ५ गतेदेखि प्रदर्शन मा आएको यो सिनेमाले घरेलु बक्स अफिसमा अपेक्षित दर्शक तान्न नसकेको तथ्याङ्कले देखाएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार प्रदर्शनको पहिलो साता पार गरिसक्दा ‘मास्टर्नी’ले निकै कमजोर व्यापार गरेको छ ।
भदौ १४ गते आइतबार राति ११:५९ बजेसम्मको तथ्याङ्क हेर्दा ‘मास्टर्नी’ ले देशभरका हलहरूबाट जम्मा ३९ लाख ५२ हजार ८ सय ५९ रुपैयाँ ६८ पैसा मात्र ग्रस कलेक्सन गरेको छ । यो अवधिमा देशभरका हलहरूमा जम्मा ११ हजार ९ सय ९६ वटा मात्र टिकट बिक्री भएका छन् ।
‘मास्टर्नी’ले ४० लाखको आँकडा छुन पनि संघर्षरत देखिएको छ । चलचित्र प्रदर्शनअघि सार्वजनिक गरिएको यसको पहिलो गीतलाई लिएर सामाजिक सञ्जालमा ठुलो विवाद भएको थियो । गीतको शैली र प्रस्तुतिलाई लिएर दर्शकहरूले नकारात्मक टिप्पणी गरेका थिए ।
सिनेवृत्तमा गरिएको विश्लेषणअनुसार गीतको विवादले चलचित्रप्रति दर्शकमा नकारात्मक धारणा पैदा गरिदियो, जसको प्रत्यक्ष असर हलको ‘अकुपेन्सी’ मा देखियो ।
लामो समय अभिनेत्रीका रूपमा सफल यात्रा तय गरेकी प्रियंका कार्कीले आफ्नै लगानीमा निर्माण गरेको यो पहिलो प्रयास थियो । चलचित्रमा प्रियंकाका अलावा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का र रक्षा थापा जस्ता स्थापित र लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ ।
यति धेरै ‘स्टार भ्यालु’ भएका कलाकारहरू एउटै पर्दामा हुँदा पनि चलचित्रले दर्शकलाई हलसम्म डोर्याउन नसक्नु र ४० लाखको आँकडा छुन पनि संघर्षरत देखिएकाले बक्स अफिसमा असफल भएको प्रमाणित गर्छ । अहिलेकै गतिमा व्यापार रहने हो भने ‘मास्टर्नी’को लगानी सुरक्षित गर्न निर्माण पक्षलाई निकै कठिन हुने देखिन्छ ।
आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् ।
चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार यसका कार्यकारी निर्माता हुन् ।
चलचित्रको कथा स्वयम् प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा लेखनमा उनलाई शान बस्नेतले साथ दिएका छन् । संवादमा पनि प्रियंका र शानकै सहकार्य छ । युवराज इन्दोरियाको छायाङ्कन र राजा सिंह सिदुको सम्पादन छ । चलचित्रको संगीत रोहित शाक्यले तयार पारेका हुन् भने त्रिशाला गुरुङको स्वर, राजेन्द्र मोक्तानको कलर र मुकेश शाहको ध्वनि मिश्रण रहेको छ ।




