प्रियंकालाई हिट फिल्मको खडेरी, आफैँले आफ्नो सिनेमालाई ‘ब्लकबस्टर’भन्दा पनि चलेन

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की केही परिपक्व देखिन्छिन् । पहिलाजस्तो धेरै विवादमा आउने गरी बोल्दिनन् । उनको बोलीमा लगाम पनि देखिन्छ ।

तर, प्रियंकाका सिनेमा भने त्यति परिपक्व र बलिया देखिएका छैनन् । उनलाई हिट फिल्मको खडेरी लागेको थुप्रै वर्ष भइसक्यो । सन् २०१८ मा रिलिज भएको ‘छक्का पञ्जा २’ रिलिज भएयता उनका कुनै सिनेमा बक्स अफिसमा हिट भएका छैनन् ।

जति पनि उनका सिनेमा रिलिज भएका छन्, अधिकांश बक्सअफिसमा असफल छन् । ‘हली’, ‘आई एम जीतबहादुर’ ‘हरिबहादुरको जुत्ता’, ‘हेलो काशिराम’, ‘मम्मी’, ‘रावायन’, ‘नाइँ नभन्नू ल ६’, ‘फूलबारी’, ‘चिँ मुसी चिँ’, ‘लक्का जवान’, ‘हेलो जिन्दगी’, ‘एउटा यस्तो प्रेम कहानी’, ‘बादशाह जुट’, ‘हजार जुनीसम्म’, ‘प्रेम दिवस’, ‘दाल भात तरकारी’, ‘अनागत’, ‘सुश्री सम्पत्ती’, ‘चंगा चेट’ उनले अभिनय गरेका पछिल्ला वर्षका सिनेमा हुन् ।

यी मध्ये ‘हरिबहादुरको जुत्ता’, ‘चंगा चेट’ र ‘दाल भात तरकारी’ले सन्तोषजनक व्यापार गरे पनि अरु सिनेमा बक्सअफिसमा हिट हुन सकेनन् । ‘हली’, ‘बादशाह जुट’, ‘हेलो काशिराम’ र ‘सुश्री सम्पत्ती’मा भने उनी विशेष भूमिकामा देखिएकी थिइन् ।

प्रियंकाको हातमा सिनेमा आउने क्रम रोकिएन । लगतार सिनेमा पाइन् । तर, अधिकांश सिनेमा सफल हुन सकेनन् । अरुका सिनेमामा काम गर्दा ती चलचित्र सफल हुन नसकेपछि उनी आफैँ निर्माणमा जुटिन् ।

आफैँ निर्माता बनेर उनले ‘मास्टर्नी’ बनाइन् । यसले आठ वर्षदेखिको आफ्नो करियरको हिट सिनेमाको खडेरी टार्नेमा उनी ढुक्क थिइन् । यो सिनेमा ब्लकबस्टर हुन्छ र आफ्नो करिअरमा एउटा हिट सिनेमा थपिन्छ भन्नेमा विश्वस्थ थिइन् । यो यस अर्थमा पनि भन्न सकिन्छ, उनले ‘मास्टर्नी’को फर्ष्ट लुकमा ‘बिगेस्ट ब्लक बस्टर अफ २०२६’ लेखेकी थिइन् ।

आफैँले रिलिज पूर्व नै ‘बिगेस्ट ब्लक बस्टर अफ २०२६’ लेखेको सिनेमाले पनि धोका दिएको छ । उनको सिनेका ४० लाखमै सीमित भएको छ । भदौ ५ गतेबाट रिलिजमा आएको यो सिनेमाले प्रदर्शनको १७ दिनमा कुल ४० लाख १५ हजार १ सय ९९ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यस अवधिमा चलचित्रका कुल १२ हजार १ सय ९७ वटा टिकट मात्र बिक्री भएका छन् ।

प्रियंकाले यसमा आफ्नो कमजोरी के रहेको भनेर रिलिजपूर्व नै जानकारी पाएको भन्दै अब यस्तो कमजोरी नगर्ने प्रतिबद्धता जनाएकी छिन् । अहिले उनी भोटेकोसी बाढी पीडितका लागि राहत संकलन र वितरणमा केन्द्रित भएकी छन् । अब कहिले र कुन सिनेमाले उनको हिट सिनेमाको खडेरी अन्त्य गर्ने हो, त्यसका लागि भने अझै पर्खिनुको विकल्प देखिएको छैन ।