तीन दशकपछि फेरि फर्किँदै ‘फेरि भेटौँला’, अरुणको जोडी आँचलसँग बाँधिने
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको डेब्यू सिनेमाका रूपमा परिचित नेपाली चलचित्र ‘फेरि भेटौँला’ अब नयाँ पुस्ताको कथामा फेरि पर्दामा आउने भएको छ । करिब तीन दशकपछि यही नामलाई लिएर निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
‘जेरी अन टप’का निर्माता न्यौपानेले मंगलबार सामाजिक सञ्जालमार्फत चलचित्रको एआईबाट तयार पारिएको पोस्टर सार्वजनिक गर्दै ‘फेरि भेटौँला’ निर्माणमा जाने जानकारी गराएका थिए ।
निर्माता न्यौपानेले यसअघि सम्बोधन, ग्याङस्टर, ब्लुज, जेरी अन टप निर्माण गरिसकेका छन् । तिहारपछि छायांकन सुरु गर्ने तयारी गरिएको यो चलचित्रलाई उनले नयाँ वर्ष २०८४ को पहिलो दिन अर्थात् वैशाख १ गते प्रदर्शन गर्ने लक्ष्य राखेका छन् ।
चलचित्र ‘फेरि भेटौँला’को मुख्य भूमिकामा ‘गौँथली’मा ‘ठूले’को भूमिकाबाट चर्चामा आएका अभिनेता अरुण क्षेत्री अनुबन्धित भइसकेका छन् । ‘गौंथली’ बक्सअफिसमा हिट भैरहँदा न्यौपानेले अनटाइटल सिनेमाका रूपमा उनलाई लिड रोलमा फाइनल गरेका थिए ।
हुन त, निर्माता न्यौपानेले यसअघि अरुणलाई नै मुख्य भूमिकामा लिएर चलचित्र ‘लोकल हिरो’ बनाउने तयारी गरेका थिए । तर, नयाँ कथा मन परेपछि उनले तत्कालका लागि उक्त सिनेमा रोक्दै फरक स्वादको प्रेमकथा निर्माण गर्ने निर्णय गरेका हुन् ।
‘फेरि भेटौँला’मा अरुणको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । आँचल केही दिनअघि मात्रै चलचित्रमा जोडिएकी हुन् । निर्माण पक्षले सिनेमाका रहने अर्को एक महिला पात्रका लागि भने अभिनेत्रीको खोजी जारी राखेको छ ।
रमेश चौलागाईंको लेखन रहेको चलचित्रको निर्देशक भने अहिलेसम्म तय भइसकेको छैन । निर्माता न्यौपानेका अनुसार स्क्रिप्टलाई अन्तिम रूप दिएपछि निर्देशक छनोट गरिनेछ ।
अनन्या फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि चलचित्रको कथावस्तु प्रेम र संगीत वरिपरि घुम्ने संकेत गरेको छ । पोस्टरमा ‘एउटा कथा बोकेको गायक’ भन्ने वाक्यांश राखिएको छ ।
यसले चलचित्रमा एक गायकको जीवन, उसको प्रेम र सम्बन्धबीचको उतारचढावलाई कथाको केन्द्रमा राखिएको बुझिन्छ । यद्यपि, निर्माण पक्षले कथाका अन्य पक्षबारे भने धेरै जानकारी सार्वजनिक गरेको छैन ।
चलचित्रको अधिकांश छायांकन काठमाडौं उपत्यकाभित्रै गर्ने तयारी छ । अब बाँकी कलाकार र निर्देशकको टुंगो लागेसँगै निर्माण पक्षले फिल्मसम्बन्धी थप विवरण सार्वजनिक गर्ने बताइएको छ ।





