‘जलाकी’बाट डेब्यु अभिनेत्री साहाराको पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । सिनेमाकी उनी मुख्य अभिनेत्री मध्येकी एक हुन् । पोस्टरमा उनी मगरहरुको संस्कृतिक पहिरनमा प्रसन्न मुद्रामा सोच मग्न देखिएकी छन् ।
साहाराले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।

‘जलाकी’ मा ‘ओपन माइन्डेड’, आधुनिक सोच भएकी, राम्रो पारिवारिक पृष्ठभूमिबाट आएकी युवतीको भूमिकामा छिन् । निर्माण टिमका अनुसार सिनेमामा उनी पोखराकी सफल, स्वतन्त्र व्यवसायी एक महिलाको छोरीको पात्रमा देखिनेछिन् ।

सिक्किमकी साहारा मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२की विजेता हुन् । उनले मिस टिन यूनिभर्स २०२२ प्रतिस्पर्धा गरेकी थिइन् । साथै मिस बेस्ट र्‍याम्पवाक सिक्किम, मिस कन्जेनियालिटी इन्डिया, अन्तर्राष्ट्रिय किशोर प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने पहिलो उत्तरपूर्वी किशोरी र मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन् ।

मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’मा अडिसनमार्फत् छनोट भएकी हुन् । सिनेमा जलाकीको यात्रा अलि डिफिकल्ट र डिफरेन्ट रहेको उनले बताइन् । सिनेमा सुटिङकै क्रममा उनले जीवनको सबैभन्दा कठिन क्षण गुजारिन् ।

सिनेमा छायांकनकै क्रममा रहँदा कार दुर्घटनामा उनको बुबाको निधन भयो । सिनेमा छायांकनका लागि काठमाडौं आउनु अघि उनले बाबालाई भेटेकी थिइन् । त्यो नै उनको अन्तिम भेट बन्यो ।

बुबाको अन्तिम बिदाइ सकेर ४ दिनमै उनी पुनः सुटिङमा फर्किइन् । ‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरो भन्दा पनि ठूलो बुबाको सपना थियो ।

साहाराका अनुसार उनलाई सिनेमा क्षेत्रमा आउन परिवार र समाजसँग लडेर सबैभन्दा बढी साथ दिने व्यक्ति उनका बुबा नै थिए । उनले बुबाको सपना पूरा गर्न नै आफ्नो कामलाई निरन्तरता दिएकी हुन् ।

‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शन हुनेछ । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको हो ।

सिनेमामा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगरको अभिनय रहेको छ ।