‘झिँगे दाउ २’लाई प्रिमियरमा प्रशंसा: ‘पहिलो हाफमा हँसाउँछ, दोस्रो हाफमा रुवाउँछ’
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको २०७९ सालको सुपरहिट चलचित्र ‘झिँगेदाउ’को दोस्रो श्रृंखला नेपाली‘झिँगे दाउ २’को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ ललितपुरको लाबिम मलस्थित क्यूएफएक्समा आयोजित प्रिमियरमा फिल्मीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
प्रिमियरपछि चलचित्रले उपस्थित अधिकांशबाट सकारात्मक प्रतिक्रिया पाएको छ । पहिलो श्रृंखलाभन्दा अझ राम्रो बनेको प्रतिक्रिया पनि धेरैको थियो ।
चलचित्रको कथावस्तु, प्रस्तुति, मेकिङ, कलाकारको अभिनय तथा गीतसंगीतको प्रशंसा गरिएको छ । विशेषगरी पारिवारिक कथालाई मौलिक ढंगले प्रस्तुत गरिएको भन्दै यो सिनेमाको तारिफ भएको हो ।
चलचित्र हेरेपछि निर्माता सरोज न्यौपानेले ‘झिँगे दाउ २’प्रति खुलेर प्रशंसा गरे । उनले निर्देशकले इमान्दारिताका साथ चलचित्र निर्माण गरेको भन्दै फिल्म लामो समयसम्म चल्ने विश्वास व्यक्त गरे ।
‘यो फिल्मलाई मनदेखि नै तारिफ गर्न चाहन्छु । निर्देशकले इमान्दार भएर फिल्म बनाउनुभएको छ । यो फिल्म तिहारसम्म चल्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
यस्तै, कलाकार जयकिशन बस्नेतले फिल्मको पहिलो र दोस्रो हाफलाई फरक अनुभूतिको रुपमा व्याख्या गरे । उनका अनुसार ‘झिँगे दाउ २’ले पहिलो हाफमा दर्शकलाई हँसाउने र दोस्रो हाफमा भावुक बनाउनेछ ।
केही चलचित्र राम्रा र केही धेरै राम्रा हुने उल्लेख गर्दै उनले ‘झिँगे दाउ २’ धेरै राम्रो चलचित्र बनेको बताए । उनले बाबु–आमासँगै बसेर यो फिल्म हेर्न दर्शकलाई आग्रहसमेत गरे ।
चलचित्र लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सिनाले पनि चलचित्रको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ‘झिँगे दाउ २’लाई पूर्ण पारिवारिक, मनोरञ्जनात्मक र मौलिक चलचित्रका रुपमा उल्लेख गरेका छन् ।
विशेषगरी पिरियड सेटिङमा विश्वसनीय चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण हुने बताउँदै उनले निर्देशक तथा निर्माण टिमले उक्त चुनौतीलाई स्वीकार गरेको प्रतिक्रिया दिएका छन् । चलचित्रले नेपाली फिल्म निर्माणलाई गम्भीरतापूर्वक लिन प्रेरित गर्ने उनको भनाइ छ ।
‘झिँगे दाउ २’मा पारिवारिक कथासँगै सम्बन्ध, भावना र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारको अभिनय छ ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रुपमा छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका छन् । अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।
यसैबीच, चलचित्रको नेपाल प्रदर्शनका लागि बुकिङसमेत खुलिसकेको छ । देशभरका हलमा फिल्मले उल्लेख्य शो पाएको निर्माण पक्षको भनाइ छ । प्रदर्शकहरुले चलचित्रप्रति देखाएको चासो र प्रिमियरपछि प्राप्त प्रतिक्रियाले ‘झिँगे दाउ २’ले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ ।




