‘जलाकी’को टिजरमा उपासनाको एकतर्फी प्रेम

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जलाकी’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सिनेमाको ‘पहिलो झलक’ नाम दिएर टिजर सार्वजनिक गरेको हो ।

अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रकोसार्वजनिक पहिलो झलकमा सिनेमाका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू लगायतका प्रस्तुत गरिएको छ ।

संवादरहित टिजरमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । साथै उनको बाल्यकाल, कलेज यात्राको क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई सरसर्ती प्रस्तुत गरिएको छ । कलेजमा उनको सोनम तोप्देनसँग एकतर्फी प्रेम बसेको टिजरले संकेत गर्छ । यसरी हेर्दा फिल्मले कलेज जीवनको अधुरो प्रेमकथालाई मुख्य विषयवस्तु बनाएको देखिन्छ ।

सिनेमाको यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ राम्रो हाइप निर्माण गर्न सफल भएका थिए ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।

सोनम र उपासनासहित सिनेमामा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो ।

‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।