रोहितको नयाँ चलचित्रमा पलको जोडी बन्दै जसिता
काठमाडौं । निर्माता रोहित अधिकारीले नयाँ चलचित्रका लागि कलाकारको लाइनअपलाई अन्तिम रूप दिन थालेका छन् ।
रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको नयाँ चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा देखिने भएका छन् ।
शीर्षक अहिलेसम्म सार्वजनिक नगरिएको यो सिनेमालाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्नेछन् ।
कथावस्तु, अन्य कलाकार, छायांकन मितिबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । यो अनटाइटल्ड चलचित्रमा पल र जसिता पहिलोपटक जोडीको रुपमा देखिने भएका हुन् ।
केही समय अगाडि पलसँग कागजी सम्झौता गरिसकेको निर्माण टिमले आज मात्रै जसितासँग सम्झौता गरेको हाे ।
याे चलचित्रको संगीतकारका रूपमा कालीप्रसाद बाँस्कोटा रहने छन् । ओएसआर डिजिटलकाे सहकार्य रहनेछ ।
निर्माता अधिकारीको निर्माण र दीपेन्द्र लामाको निर्देशनमा तयार भएको सिनेमा ‘छ माया छपक्कै २’ यही दसैँमा प्रदर्शनको तयारीमा छ ।
त्यसैगरी, अधिकारीले सफल सिनेमा ‘फर्की फर्की’को सिक्वेल निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । २०८१ जेठ १० गते प्रदर्शनमा आएको ‘फर्की फर्की’मा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा थिए । यसको सिक्वेलका लागि भने निर्माता अधिकारीले अनमोल केसीलाई अनुबन्ध गरिसकेका छन् । सिक्वेलको निर्देशन पनि सुयोग गुरुङले नै गर्ने बताइएको छ ।
यत, निर्माता अधिकारी एकैसाथ फरक–फरक प्रोजेक्टलाई अगाडि बढाइरहेका छन् । एकातिर ‘छ माया छपक्कै २’ प्रदर्शनको तयारीमा छ भने अर्कोतिर ‘फर्की फर्की’को सिक्वेलको काम अघि बढिरहेको छ । यसैबीच पल शाह र जसिता गुरुङलाई लिएर नयाँ सिनेमा बाउने तयारीमा छन् ।
पल र जसिताको जोडीलाई पहिलोपटक ठूलो पर्दामा सँगै हेर्न पाइने भएपछि निर्माण घोषणासँगै यो अनटाइटल्ड सिनेमाप्रति चासो बढेको छ ।




