फ्राइडे रिलिजमा ‘बाः एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ हलमा

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीनवटा नेपाली रिलिज भएका छन् । ‘बाः एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ आजबाट रिलिज भएका हुन् ।

चलचित्र ‘बाः एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ ।

‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

एक्सन स्टार निखिल उप्रेतीको चलचित्र ‘आचार्य’ पनि आजैबाट प्रदर्शनमा आएको छ । निखिलको निर्माण, लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’मा निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको चलचित्र हो ।

यसमा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीका साथै बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायतको अभिनय छ । पूर्णिकाले यही चलचित्रबाट नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।

चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् । शुक्रराज शाहले एक्सन निर्देशन गरेका छन् भने बन्दे प्रसादले सम्पादन गरेका छन् ।

लेखन, निर्देशन र निर्माणसँगै चलचित्रमा मुख्य भूमिकासमेत निखिल उप्रेतीकै रहेको छ ।

अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’ जातीय विभेद, अन्तरजातीय सम्बन्ध र सामाजिक अवरोमाथिको कथा हो ।

चलचित्रमा नेपाली समाज र जनजीवनसँग जोडिएको मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको चलचित्रमा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माताका रूपमा छन् ।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्मात्री हुन् ।