नेपालमा पहिलोपटक चलचित्रको टिकटको मूल्य कति थियो ?

काठमाडौं । नेपालमा सिनेमाको टिकट मंहगो रहेको गुनासो हुने गरेको छ । मल्टिप्लेक्समा सामान्यतया ४०० भन्दा माथि टिकटको मूल्य हुने गरेको छ ।

छुट दिने दिनमा भने टिकटको मूल्य केही कम हुने गरेको छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा भने औसतमा टिकटको मूल्य करिब ३०० देखि साढे तीन सय रुपैयाँसम्म देखिने गरेको छ ।

सिंगल थिएटर मासेर मल्टिप्लेक्स सुरु भएसँगै टिकटको मूल्य आकासिएको दर्शकको गुनासो छ । यो त भयो अहिलेको सिनेमाको टिकटको मूल्य नेपालमा हल खुल्दा ताका चलचित्रको टिकटको मूल्य कति थियो होला ?

नेपालमा पहिलोपटक सिनेमा हलमा ‘राम विवाह’ नामक सिनेमा देखाइएको थियो । त्यो चलचित्र हेर्नका लागि टिकटको मूल्य २५ पैसा तोकिएको थियो । त्यो सिनेमा विसं. २००६ सालमा देखाइएको थियो ।

काठमाडौंमा पहिलोपल्ट विसं. २००६ मा सिनेमा हल खुलेको थियो । जसको नाम थियो, ‘काठमाडौं सिनेमा घर’ । यसको उद्घाटन विसं. २००६ मंसिर २६ गते गरिएको थियो ।

दुई वर्ष पछि २००८ मा यसको नाम परिवर्तन भएर जनसेवा हल भयो । २०१८ भदौ २६ मा सामान्य विवादमा हुलले आगो लगाएपछि नेपालको पहिलो सिनेमा घरको इतिहास मेटियो ।

उक्त सिनेमा घर भएको ठाउँमा विशालबजार निर्माण गरियो ।