रणवीर कपूरको करिअरकै सर्वाधिक कमाउने चलचित्र बन्यो ‘रामायण’, कमाइ कति ?
काठमाडौं । बलिउड अभिनेता रणवीर कपूरको चलचित्र ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ । प्रदर्शनको पहिलो सातामै विश्वव्यापी रूपमा ९३५ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गर्दै रणवीरको करिअरकै सर्वाधिक कमाइ गर्ने सिनेमा बनेको हो ।
यसअघि रणवीर अभिनीत ब्लकबस्टर चलचित्र ‘एनिमल’ उनको करिअरकै सबैभन्दा बढी कमाइ गर्ने फिल्म थियो । हिन्दुस्तान टाइम्सका अनुसार सन् २०२३ मा प्रदर्शनमा आएको ‘एनिमल’ले आफ्नो प्रदर्शन अवधिभर विश्वव्यापी बक्स अफिसमा ९१५ करोड भारू कमाएको थियो । तर, ‘रामायण’ले प्रदर्शनको सात दिनमै उक्त आँकडा पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।
त्यतिमात्र होइन, चलचित्रले आमिर खान अभिनीत ‘सेक्रेट सुपरस्टार’को ९१६ करोड र सलमान खानको ‘बजरंगी भाइजान’को ९२१ करोड भारू लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ । यससँगै ‘रामायण’ले छोटो समयमै बलिउडका सफल चलचित्रहरूको सूचीमा आफ्नो स्थान बलियो बनाएको छ ।
चलचित्रको भारत प्रदर्शनको व्यापार पनि निकै उत्साहजनक देखिएको छ । रिपोर्टअनुसार बुधबार मात्रै यो चलचित्रले भारतीय बक्स अफिसमा ७० करोड भारू नेट कलेक्सन गरेको थियो । प्रदर्शनको सात दिनसम्म भारतमा चलचित्रको नेट कलेक्सन ५११ करोड र ग्रस कलेक्सन ६११ करोड भारू पुगेको छ ।
त्यस्तै, विदेशी बजारबाट मात्रै चलचित्रले ३४.५ मिलियन अमेरिकी डलर कमाएको बताइएको छ । भारतीय र विदेशी बजारको व्यापार जोड्दा चलचित्रको कुल विश्वव्यापी ग्रस कलेक्सन ९३५ करोड भारू पुगेको हो ।
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणवीर कपूरले भगवान् रामको भूमिका निर्वाह गरेका छन् । त्यस्तै, साई पल्लवी सीताको भूमिकामा देखिएकी छन् भने दक्षिण भारतीय अभिनेता यशले रावण र रवि दुबेले लक्ष्मणको भूमिका निभाएका छन् ।
भारतसँगै नेपालमा पनि एकसाथ प्रदर्शनमा आएको यस चलचित्रले नेपाली बक्स अफिसमा समेत राम्रो व्यापार गरिरहेको छ । पौराणिक कथावस्तु, चर्चित कलाकारको अभिनय र ठूलो बजेटमा निर्माण भएको चलचित्रप्रति नेपाली दर्शकको आकर्षण देखिएको छ । भारतीय बजारमा लगातार नयाँ रेकर्ड बनाइरहेको ‘रामायण’ले नेपालमा पनि आफ्नो व्यापारिक पकड बलियो बनाउँदै लगेको छ ।
विश्वव्यापी बक्स अफिसमा पहिलो सातामै ९३५ करोड भारूको आँकडा पार गरेको चलचित्रले आगामी दिनमा कति कमाइ गर्छ भन्ने चासो पनि बढेको छ ।


