भ्रम फैल्याउने काम बन्द गरौँ
बुधबार बलिउडका भेट्रान अभिनेता सलमान खानको सिनेमा ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भयो । यो ट्रेलरले नेपालीमा ठूलो खुसीको सञ्चार गर्यो । खुसीको कारण, यसमा नेपाली कलाकार अनुपविक्रम शाहीको अभिनय थियो ।
ट्रेलरमा सलमानपछि सबैभन्दा धेरै स्पेश पाउने नै अनुपविक्रम शाही थिए । एउटा सानो साइड सिन वा पासिङ सटका लागि पनि ठूलो पापड बेल्नु पर्ने सिनेमा उद्योगमा सलमानसँगै स्क्रिन सेयर गर्न पाउनु नेपाली कलाकारका लागि ठूलो इज्जत र उपलब्धी हो । त्यसैले पनि यसले नेपालीलाई तिहारको मुख्य दिन भाइटीकाको दिन बिहानै खुसी दिएको थियो ।
खुसी सेलाउन नपाउँदै यतिबेला फेरि अर्को संशय देखिएको छ । विभिन्न अड्कलबाजी हुन थालेका छन् । अनुपविक्रम शाहीले काम गरेको चलचित्र ‘मातृभूमि’ नेपालमा रिलिज हुन्छ कि हुँदैन भनेर विभिन्न अड्कलबाजी सुरु भएको छ ।
सलमानपछि नेपाली कलाकार सेकेन्ड लिडमा रहेको सिनेमा हलमा गएर हेर्ने रहर पक्कै पनि नेपालीलाई हुन्छ नै । तर, यो सिनेमा नेपालमा प्रदर्शन हुन्छ कि हुँदैन भनेर किन अड्कलबाजी भइरहेको छ ?
सूचना तथा सञ्चार मन्त्रालय अन्तरर्गतको केन्द्रीय चलचित्र जाँच समितिले केही समय अगाडि मात्रै कुनै पनि देश र त्यो देशका जनता विरोधी भावना फैल्याउने चलचित्र प्रदर्शनका लागि इजाजत नदिने निर्णय गरेको थियो । नेपाल स्वयं वा छिमेकी देशविरोधी सिनेमा छ भने त्यस्ता सिनेमा समितिबाट पास हुँदैनन् भन्ने व्यवस्था गरिएको थियो ।
जस्तै उदाहरणका लागि, कुनै हिन्दी सिनेमा छ, तर त्यसमा चीनलाई खराब भनेर भनिएको छ भने त्यो सिनेमा नेपालमा प्रदर्शन गर्न समितिले रोक लगाउँछ । यही व्यवस्थामा टेकेर दुई साता अगाडि ‘उड्ता तीर’ले पाकिस्तानलाई नकारात्मक रुपमा चित्रण गरेको भन्दै समितिले नेपालमा प्रदर्शन गर्न दिएन ।
हो यस्तै यदि, ‘मातृभूमि’ चीन र चिनियाँ जनता विरोधी सिनेमा रहेछ भने यो चलचित्रले नेपालमा प्रदर्शनको अनुमति पाउँदैन । ‘उड्ता तीर’को नजिर देखाएर पनि समितिले आफ्नो कार्यविधि देखाएर यो सिनेमाको नेपाल रिलिज रोक्न सक्छ ।
यद्यपि, अहिले नै यही हुन्छ र यस्तै हुन्छ भनेर निष्कर्षमा पुग्ने यो विषय होइन । सिनेमा समितिमा प्रदर्शन अनुमतिका लागि चलचित्र विकास बोर्डबाट सिफारिस भएर आएपछि टुंगो लाग्ने विषय हो ।
सञ्चार मन्त्रालय, गृह मन्त्रालय, संस्कृति मन्त्रालयका प्रनिधि र तीनजना चलचित्रविज्ञ रहेको समितिका सदस्यले सिनेमा हेर्दा यी सिन र संवाद चीन विरोधी छन्, यसमा नेपाल देश किन प्रयोग हुने भन्ने महसुस गरेको खण्डमा समितिले आफ्नो स्वतन्त्र निर्णय लिनसक्छ । यस्तो अवस्थामा समिति सदस्यले तर्क र कारणसहित छलफल गरेर सिनेमा रोक्न पनि सक्छ । तर, थोरै संवाद र सिन मात्रै त्यस्तो रहेको अवस्थामा त्यो हटाएर वा विप लगाएर समितिले प्रदर्शनको अनुमति दिन पनि सक्छ ।
त्यसैले यो अहिले नै अड्लबाजीका भरका ‘मातृभूमि’ नेपालमा चल्दैन भनेर भन्नु गलत हो । भ्रम फैल्याउने काम मात्रै हो । त्यसैले अतिरन्जित भ्रम फैल्याउने काम गर्नु हुँदैन ।


