लय नसमाउँदै भत्कियो पलको फिल्मी करियर ? किन हच्किदैछन् निर्माता/निर्देशक ?

काठमाडौं । नायक पल शाह ‘कल्ली’बाट निकालिए अथवा आफैँ मनखुसी बाहिरिए ? यसविषयमा अहिले नेपाली सिने वृत्तमा चर्चा छ । कसैले आफैँ बाहिरिए भन्छन् भने कसैले निकालिएर भनिरहेका छन् ।

यहाँ कसले के भन्यो भन्दा पनि के भइरहेको छ भन्ने तथ्य आफैँ बोल्छ । उनको विगत र वर्तमानमा भए गरेका घटनाले धेरै कुरा आफैँ बोलिरहेको छ । वर्तमानले भविश्यको संकेत गरिरहेको छ । सुदूर भविश्यको त अहिले भन्न सकिन्न । तर निटक भविश्यबारे भने वर्तमानले ठूलो भूमिका खेल्छ ।

विगतमा के भयो त्यो धेरैलाई थाहा छ । नावालिग युवतीसँगको सम्बन्धका कारण उनले कति समय जेलमा बिताए, त्यो यहाँ उल्लेख गरिरहन पर्दैन । ती युवतीले लचक भएर आफ्नो पूर्ववर्ती अडानबाट पछि नहटेको भए के हुन्थ्यो त्यो पनि धेरैलाई अवगत नै छ । त्यसको प्रभाव उनले कति भोग्नुपर्यो त्यो पनि जगजाहेर छ ।

कुरा गरौँ वर्तमानको, प्रदर्शनरत चलचित्र ‘रावायण’ले राम्रो ब्यापार गर्न सकेन । यो चलचित्रको मुख्य भूमिकामा पल शाह छन् । चलचित्रले व्यापार मात्रै नगरेको होइन उनको फिल्मी चरित्र विशेषगरी लुक्सलाई लिएर नकारात्मक टिप्पणी भइरहेको छ । विशेषगरी उनको नक्कली दारी, जुँगा र कपाललाई लिएर आलोचना भइरहेको छ ।

चलचित्र रिलिज हुनुभन्दा अगाडि एक पोडकास्टमा पलसँग जोडिएकी गायिकासँग पूजा शर्माले दिएको अभिव्यक्तिले हो वा चलचित्रमा पलका कारणले हो, जे होस् चलचित्रले राम्रो व्यापार गरेन । कसैले उक्त पोडकास्टकै कारण चलचित्र चलेन भने पनि त्योभन्दा बलियो पक्ष चाहिँ कमजोर कन्टेन नै हो भन्ने लाग्छ ।

उनको गेटअपमा निर्माण टिमले गरेको मिहिनेत हेर्दा नै धेरैले अनुमान लगाइसकेका थिए, चलचित्र कमजोर बनेको हुनसक्छ । नभन्दै समीक्षा र वर्ड अफ माउथ पनि त्यस्तै रह्यो ।

‘रावायण’ले राम्रो ब्यापार नगर्नुको परिणाम हो, उनको हातबाट चलचित्र ‘कल्ली’ फुत्किनुको । निर्देशक तथा निर्माता उनको चलचित्रले कस्तो ब्यापार गर्छ भनेर ‘पर्ख र हेर’को रणनीतिमा थिए । जब उनको चलचित्र ‘रावायण’ले ब्यापार राम्रो गरेन । निर्माताले उनलाई लिन चाहेनन् । त्यसैले उनलाई साइन गरेको भूमिकामा सौगात मल्ललाई भित्र्याए । होइन यो चलचित्रले राम्रो ब्यापार गरेको थियो भने पलको हातमा रहेका सिनेमा फुत्किने थिएनन् । झन थपिने थिए ।

‘पुजार सार्की’को व्यापारलाई लिएर निर्माता तथा निर्देशक कन्फ्युजनमा थिए । कारण ‘पुजार सार्की’ कसले गर्दा चल्यो भन्ने ठम्याउन सकेका थिएनन् । यो चलचित्रको नाम पुजार सार्कीको चरित्रमा आर्यन सिक्देल थिए । चलचित्रमा प्रदीप खड्काको अभिनयको चौतर्फी तारिफ भएको थियो ।

यता पलको फ्यानफलोइङ गज्जवको छ भन्ने थियो । त्यसैले कसका कारण यो सिनेमा चल्यो भन्नेमा धेरैलाई कन्फ्युजन थियो । जब ‘रावायण’को ब्यापार उनीहरुले देखे, त्यसपछि यो निष्कर्षमा पुगे– पलका कारण ‘पुजार सार्की’ चलेको होइन रहेछ । ‘रावायण’को हिरोइन पूजा शर्माको पनि नाम छ । निर्देशक सुदर्शन थापाको पनि नाम छ । त्यसमा सिनेमाको शीर्ष भूमिकामा पल हुँदा पनि सिनेमा नचलेपछि निर्देशक निर्माता प्रष्ट भए ।

पल शीर्ष भूमिकामा रहेको ‘मायावी’ले रिलिज डेट सारेको छ । पलको चलचित्र ‘रावायण’ चलेन । उनै शीर्ष भूमिकामा रहेको चलचित्र तत्काल नल्याउन ‘मायावी’ निर्देशक दिवाकर भट्टराई दबाबमा परे । त्यसैले उनी केही पछि सरेको धेरैले यतिबेला अड्कलबाजी लगाइरहेका छन् । तर उनी स्वयंले भने आफू अर्को चलचित्रका छायांकनमा व्यस्त रहने र एकैपटक तीनतीन वटा चलचित्रसँग रिलिज हुनुपर्दा शो बाँडिने भन्दै पछि सरेको बताएका छन् ।

जे होस् छोटो समयमै पल पुरानै लयमा फर्किए भनेर अड्कलबाजी भइरहेका बेला उनी दबाबमा परेका छन् । उनका पाइपलाइनमा रहेका अरु प्रोजेक्ट पनि के हुने भन्ने कुरालाई यस्ता निर्णयले असर गर्छ ।

चलचित्रमा मात्रै पनि होइन उनको सुरुआती करियरमै फर्किन्छु भन्दा म्युजिक भिडियोमा पनि यसको असर देखिन सक्छ । जुन स्वभाविक पनि हो । किन भने एउटा कुराको असर सँगै जोडिएर आउने अन्य पक्षमा पनि पर्छ नै ।

त्यसो त अहिले यसै पनि म्युजिक भिडियो निर्माणको संख्या निकै कम छ । एकारित यसै पनि म्युजिक भिडियोको सुस्ताएको बजारले उनले कति म्युजिक भिडियो पाउलान् भन्ने कुरा हो, त्यसमा पनि फिल्मी क्षेत्रमा लागेको ओरालो करिअरको असर यसमा पनि पर्छ । किनकी बजार यही हो, दर्शक यिनै हुन् । सर्जक तथा स्रस्टा यिनै हुन्, मात्रै फरक म्युजिक भिडियो सानो स्केलमा हुन्छ भने सिनेमा ठूलो स्केलमा ।

बजार नै सबैभन्दा मुख्य कुरा भएकाले अबका दिनमा पलले आफूलाई पहिलाकै लयमा फर्काउने हो भने आफू मात्र साइलेन्समा बस्ने होइन आफ्नो टिमलाई पनि आफू र आफ्नो विगतबारे के बोल्ने, कतिसम्म बोल्ने, कुन समय बोल्ने त्यसमा हेक्का राख्न राख्न लगाउन सक्नुपर्छ । होइन भने फर्किन सहज हुने छैन ।

यही सामाजिक सञ्जाल र यिनै मिडिया हुन् सानो राम्रो कुरा हुँदा रातारात ‘भगवान’ सरह बनाइदिने र यिनै मडिया र सामाजिक सञ्जाल हुन रातारात त्यही ‘भगवान’लाई ‘दानव’मा परिणत गराइदिने । कम्तिमा यति हेक्का राख्न सकिएन भने करिअर क्षणभरमै भताभुंग हुन्छ ।