karsang
Close Me

समीर भट्टको पहिलो चलचित्र नै सुपर हिट

काठमाडौं । विराज भट्टका छोरा समीर भट्टको पहिलो चलचित्र नै सुपर हिट भएको छ । फूलपातीको अवसर पारेर बिहीबारबाट रिलिज भएको चलचित्र ‘१२ गाउँ’ हिट भएको हो ।

विराज भट्टको निर्देशन रहेको सिनेमाबाट समीरले नेपाली रजतपटमा डेब्यु गरेका थिए । उनको डेब्यु सिनेमाले नै ब्यापारिक रुपमा हिट भएको हो । पहिलो दिन चलचित्रले कति कमायो भन्ने निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

तर देशभरका हलमा चलचित्रले हाउसफुल बिजनेस गरेको थियो । कम्तीमा सिनेमाले एक करोडभन्दा माथि ग्रसकलेक्सन गरेको अनुमान गरिएको छ । दर्शकले सिनेमाको तारिफ गरेका छन् ।

समीरको अभिनयको तारिफ भएको छ । दक्षिणका सिनेमा सरहको चलचित्र बनेको भन्दै तारिफ भएको छ ,

समीरले आफ्नै बुवाको चलचित्रबाट डेब्यु गरेका छन् । उनले १० वर्षदेखि चलचित्रका लागि मुम्बईमा बसेर तयारी गरेका थिए ।

धेरै लिजेन्ड कलाकारका छोराछोरीले सिनेमामा डेब्यु गरे पनि पहिलो सिनेमाबाट सफलता पाएको विगत नेपालमा कमै छ । तर समीरले भने डेब्युबाटै सफलता पाएका हुन् ।

‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।