चलचित्र ‘पहाड’ले लियो रिलिज डेट

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘पहाड’को प्रदर्शन तय गरिएको छ । यो चलचित्र कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताएका छन् ।

गोरखामा ३६ दिन छायांकन भएको र यही वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायांकन गरिने निर्देशक घिमिरेले जानकारी दिए । ‘बलिदान’पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’पछि सुनील थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र कामप्रतिको समर्पण उस्तै पाएको बताए ।

“मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ,” उनले भने, “फिल्म हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

ओजस्वी केसी निर्माता रहेको चलचित्रई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायांकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

यसमा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग सहनिर्माता रहेको फिल्म नेपालमा वैङकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।