लगातार दुई सिनेमा फ्लप भएपछि आफै निर्माणमा होमिए पल

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रमा एक दशकदेखि सक्रिय अभिनेता पल शाहका लागि वर्ष २०८१ सुखद् रहन सकेन । यस वर्ष रिलिज भएका उनका तीन चलचित्रमध्ये ‘पूजार सार्की’ सुपरहिट हुँदा ‘रावायण’ र ‘मायावी’ भने बक्स अफिसमा असफल भए ।
यस वर्ष लगातार दुई सिनेमा फ्लप भएपछि पलको स्टारडम कमजोर बनेको टिप्पणी भइरहेको छ । तर, उनी अब आफैँ चलचित्र निर्माणमा होमिएका छन् ।
पलले आफूले निर्माण गर्न लागेको पहिलो चलचित्र नयाँ वर्षको अवसर पारेर घोषणा छन् । पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।
यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले दुई सिनेमा ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए ।
निर्देशक सुवेदीले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । सिनेमाको कथा पनि उनी स्वयंले नै लेखेका हुन् ।
फ्यामिली ड्रामा विधामा आधारित रहने यो चलचित्र सामाजिक सन्देश बोकेको विषयवस्तुमा तयार गरिने निर्माण टिमले जानकारी दिएको छ ।
विकासले पहिला लेखेका तीनै चलचित्र सामाजिक कथावस्तुमै तयार भएका थिए । यो चलचित्र पनि उनले आफ्नै स्टाइलमा बनाउन लागेको सुवेदीको भनाई छ ।
चलचित्रको असारबाट छायांकन सुरु गरिने निर्माणपक्षले जनाएको छ । चलचित्रको मुख्य कलाकार को-को हुने भनेर गोप्य राखिएको छ । कलाकारहरु फाइनल हुन बाँकी रहेको बताइए पनि भित्रभित्रै चर्चामा भने के छ भने, पल आफैँ लिड रोलमा देखिने छन् ।
लगातारको असफलता पछि आफैं निर्माणमा होमिनु पलको करियरको नयाँ अध्यायको सुरुवात हुन सक्छ । उनको यो निर्माता यात्रा कस्तो रहला? चासो रहने देखिएको छ ।