सबैभन्दा धेरै शो पाउने चलचित्र कुन हो, हेर्नुस् फेहरिस्त

काठमाडौं । नेपाली चलचित्र उद्योगमा विभिन्न चलचित्रले विभिन्न समयमा रेकर्ड बनाएका छन् । आफ्नो आफ्नो समयमा चलचित्रले रेकर्ड बनाइरहेका हुन्छन् ।
ती चलचित्रका अधिकांश रेकर्ड २०८१ को कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले तोडेको छ । यो चलचित्रले आफ्नो नाममा थुप्रै रेकर्ड बनाएको छ ।
अनेक रेकर्डमा ‘पूर्ण बहादुरको सारङ्गी’का नाममा रहेको एउटा रेकर्ड हो, उच्च शोको । यो चलचित्रले एकै दिन सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन ९८ हलमा ४६५ शो पाएको छ । यो हालसम्म एकै दिन एउटै सिनेमाले पाएको सबैभन्दा धेरै शो हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ अघि यो रकेर्ड ‘बेहुली फ्रम मेघौली’को नाममा थियो । ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएर सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको थियो ।
तर, ‘बेहुली फ्रम मेघौली’को नाममा रहेको यो रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले खोसेको थियो ।
यो चलचित्र बिहान ४ : ४५ देखि राति ११ : ४५ बजेसम्म शो पाएको थियो । बिहान ४ : ४५ र राति ११ : ४५ बजेका शो पनि हाउसफुल भएका थिए । प्रायः नेपाली चलचित्रको अबेर राति र बिहान ६ बजे अगाडि हुँदैनन् ।
ओभरसिज मार्केटमा पनि सबैभन्दा धेरै शो पाउने सिनेमा यही हो । तर, ओभरसिज मार्केटको शो भने निर्माण तथा वितरक कम्पनीले उपलब्ध गराउन सकेको छैन ।
कुनै एक दिन मात्रै होइन, यो सिनेमा लाइफ टाइम सबैभन्दा धेरै पाउने चलचित्र पनि हो । तर, जम्मा कति शो पायो यो भने कसैसँग पनि रेकर्ड छैन । किन भने नेपालमा तथ्यांकमा सरकारी हुन् वा निजी संस्था सबै कमजोर छन् ।
यो सिनेमाले नेपालमा मात्रै ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । नेपाल बाहिर समेत गरेर ७५ करोडभन्दा माथि कलेक्सन गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले मिश्रित समीक्षा पाएको थियो । हल रिभ्यू अर्थात् अडियन्सबाट भने यसले उत्कृष्ट रिभ्यू पाएको थियो । दर्शकको राम्रो रिभ्यूकै कारण यो चलचित्रले अनपेक्षित रूपमा कमाइ गरेको थियो ।
सरोज पौडेलले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल मुख्य भूमिकामा थिए । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको पनि मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका थिए । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी थिए । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका थिए ।