पललाई सिने करियरमा लगातार धक्का, हातका फिल्म धमाधम खोस्न थाले निर्माता/निर्देशक

काठमाडौं । कलाकार पल शाहलाई फेरि अर्को झड्का लागेको छ । लगातार फिल्म गुमाइरहेका उनले फेरि अर्को चलचित्र गुमाएका छन् ।
पलले ‘महाराजधिराज’ पनि गुमाएका छन् । उनी यो चलचित्रको नायकको भूमिकामा थिए । मुख्य भूमिकामा अनुबन्ध भएका उनलाई अन्ततः निर्माण टिमले निकाल्यो ।
उनले यो सिनेमामा क्यारेक्टर आर्टिस्टको भूमिका निभाउँदै समग्र सिंगो सिनेमाको लिड गर्नुपर्नेथियो । यसका लागि उनले वेट लुज पनि गर्नुपर्ने थियो ।
किन निर्माण पक्षले सिनेमाको लाइनअप पूरा भइसकेको अवस्थामा पलसँगको सम्झौता रद्ध गर्यो त्यसबारे प्रष्ट पारेको छैन । र, दुवै पक्षले यसबारे दुवै पक्षले नबोल्ने बताएका छन् । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । कथा पनि उनकै छ । विराज विष्ट यो चलचित्रका प्रस्तुतकर्ता छन् ।
‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ फूलपातीमा प्रदर्शनमा आउने तयारीमा छ ।
पलका लागि अन्तिममा आएर सिनेमा छोड्नु परेको भने यो पहिलोपटक होइन । यसअघि ‘कल्ली’ पनि अन्तिम समयमा आएर उनले छोड्नु परेको थियो ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रमा पललाई रिप्लेस गरेका थिए, सौगात मल्लले । ‘कल्ली’मा पनि पलको पोस्टर सार्वजनिक भइसकेपछि अन्तिममा उनसँगको सम्झौता निर्माणपक्षले रद्ध गरेको थियो ।
पल मुख्य भूमिकामा रहेको चलचित्र ‘रावायण’ व्यापारिक रूपमा असफल भएपछि उनीसँगको सम्झौता निर्माणपक्षले रद्ध गरेको धेरैले बताएका थिए ।
त्यसयता उनी मुख्य भूमिकामा रहेको लभस्टोरी सिनेमा ‘मायावी’ पनि असफल भएको थियो । एकपछि अर्को चलचित्र असफल भइरहँदा पलले साइन गरिसकेका सिनेमा पनि एकपछि अर्को गर्दै गुमाइरहेका छन् ।
साइन गरिसकेका र पोस्टर समेत सार्वजनिक भइसकेको अवस्थामा सिनेमा गुमाउनु भनेको सम्बन्धित कलाकारको करिअरका लागि भन्ने गम्भीर धक्का हो ।