विजय बरालले सुरु गरे ‘जिरो डिग्री’को छायांकन
काठमाडौं । नेपाली कथानक चलचित्र ‘जिरो डिग्री’को छायांकन सुरु गरिएको छ । आइबार पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु भएको हो ।
चलचित्रको ३५ दिनको छायांकन कार्यतालिका राखिएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको पहिलो सट कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित चलचित्र हो । यस चलचित्रको सम्पूर्ण छायाकंन कास्कीको अर्मलाकोट र धिताल गाउँमा हुने निर्माण पक्षले बताएको छ ।
आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथा रहने यो चलचित्र सडक सञ्जाल नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूलाई मुख्य विषय बनाइएको निर्माण टिमको भनाइ छ ।
चलचित्रमा अभिनेता विजय बराल र सनिशा भट्टराईको साथमा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी
प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय यस चलचित्रमा रहनेछ । चलचित्रको कास्टिङ सन्जोग रसाइलीले नै गरेका हुन् ।
कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको यस चलचित्रलाई निशाल पौडेलले छायांकन गर्दैछन् । सम्पादन चानस पुन मगर र रंग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन् । चलचित्रमा अंकित बाबु अधिकारीको संगीत र युवराज काफ्लेको शब्द रचना छ ।
यो चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले काठमाडौं उपत्यका बाहिर र डिसिएनले उपत्यकामा वितरण गर्नेछन् ।

