‘जिरो डिग्री’को छायांकन सम्पन्न, दसैँ अगावै रिलिज हुने

काठमाडौं । अभिनेता विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको रमणीय गाउँ धितालमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम दृश्य खिच्दै सोमबार चलचित्रको छायांकन कार्य पुरा गरिएको हो ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो ‘डार्क कमेडी’ चलचित्रको छायांकनका लागि सुरुमा ३५ दिनको तालिका तय गरिएको थियो । पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरिएको निर्माण टोलीले निर्धारित समयभन्दा दुई दिन बढी अर्थात् ३७ दिन लगाएर सुटिङ सम्पन्न गरेको हो ।

चलचित्रको छायांकन पोखरा वरपरका मौलिक र सुन्दर बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ । छायांकनको अन्तिम चरणमा टोलीले लगातार ३० घण्टासम्म काम गरेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक आकास बरालका अनुसार कठिन परिस्थितिमा पनि सेटको वातावरण निकै रमाइलो र ऊर्जावान् थियो । उनी भन्छन्, ‘हरेक दिन पानी पर्दा र काम गर्न गाह्रो हुँदा पनि सेटमा हाँसोको कमी भएन । सुटिङका क्रममा हामी जति हाँस्यौँ, त्यही हाँसो दर्शकलाई पनि बाँड्न सकियो भने मात्र हाम्रो मिहिनेत सफल हुनेछ ।’

‘जिरो डिग्री’ले एक विकट गाउँको मार्मिक तर व्यङ्ग्यात्मक कथा बोकेको छ । सडक सञ्जाल नपुगेको गाउँमा आमाबुवाको मृत्यु भएपछि विदेशमा रहेका सन्तान नफर्किउन्जेल शवलाई सुरक्षित राख्न एउटा ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उतारचढाव र रोचक परिस्थितिहरू नै चलचित्रको मुख्य विषयवस्तु हो ।

यस चलचित्रमा अभिनेता विजय बराललाई दर्शकले अहिलेसम्मकै फरक र नदेखेको अवतारमा देख्न पाउने दाबी गरिएको छ । निर्देशक बरालले विजयको चरित्रका बारेमा विस्तृत रूपमा नखुलाए पनि उनको अभिनय र सहकार्य निकै उत्कृष्ट रहेको बताएका छन् ।

सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा कलाकारहरूको बलियो लाइनअप छ । विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतले अभिनय गरेका छन् ।

मोती कार्की कार्यकारी निर्माता रहेको यस चलचित्रलाई निशाल पौडेलले छायांकन गरेका हुन् । चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत, युवराज काफ्लेको शब्द, चानस पुन मगरको सम्पादन र राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ ।

यसअघि नै व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गरेर चर्चा बटुलिरहेको यो चलचित्र आगामी वडा दसैँभन्दा अगाडि नै प्रदर्शनमा आउने तयारीमा छ ।

रोयल भिमसेन तथा ट्राइडेन्ट कन्सेप्ट टिमले पब्लिसिटी डिजाइन गर्ने यो चलचित्रलाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यका भित्र डिसिएनले वितरण गर्ने जिम्मा लिएका छन् ।